राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन सुरु
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को आज(सोमबार)देखि महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु हुँदैछ । पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनका लागि देशका तीन सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार नौ सय ७० प्रतिनिधि छनोट हुने छ ।
उक्त पार्टीको यही मंसिर १५–१७ गतेसम्म काठमाडौँमा महाधिवेशन हुँदैछ । प्रतिनिधि छनोटका लागि आजदेखि हुन लागेको निर्वाचनमार्फत प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनोट हुनेछ ।
पार्टीका अनुसार, तीन खस आर्य(अन्य), तीन महिला, एक जनजाति, एक दलित, एक अल्पसङ्ख्यक, मुस्लिम, थारुलगायत गरी नौ जना निर्वाचित हुने छन् । यसअघि भएका गाउँपालिका, नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्ष पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेको पनि श्रेष्ठले जनाए ।
राप्रपामा यसरी चयन भएर आउने प्रतिनिधि, भ्रातृ सङ्गठन, प्रवासका प्रतिनिधि र अध्यक्षबाट मनोनीत हुनेसमेत गरी चार हजार पाँच सय महाधिवेशन प्रतिनिधि हुनेछन् ।
Facebook Comment