‘गीत गजल’ मा रोमान्स गर्दै रुप र आरोही
काठमाण्डौ । ‘जोनी जेन्टलम्यान’ फेम्ड निर्देशक नितिन चन्दको दोस्रो निर्देशकीय फिल्म ‘गीत गजल’ को सुटिङ प्याकअप भएको छ । करीब एक महिना लामो छायांकन पश्चात् फिल्मको इन्डक्ल्याप भएको हो । म्यूजिकल लभस्टोरी बताइएको फिल्ममा रुप पोखरेल र आरोही सिंह लिड रोलमा छन् ।
रुप र आरोहीले यही फिल्मबाट डेब्यु गरेका हुन् । यसअघि फिल्ममा अभिनेत्री सारा शिर्पाली अनुबन्ध भएकी थिइन् । तर, छायांकनमा जानु अगावै टिमसँग मनमुटाव भएपछि उनी बाहिरिएकी थिइन् । उनको ठाउँ आरोहीले लिएकी हुन् । आरोहण क्षेत्री यसका निर्माता हुन् ।
रश्मी भट्ट, विशाल पहाडी, भिमा मैनालीलगायतको पनि अभिनय रहेको फिल्मको एक गीत भने खिच्न बाँकी रहेको निर्देशक चन्दले बताए । यस वर्षको अन्त्यसम्ममा प्रदर्शनमा ल्याउने तयारी भइरहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् । फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत छ ।
निर्माता क्षेत्रीले फिल्मलाई स्तरिय बनाउन कुनै कसर बाँकी नराखेको बताएका छन् । फिल्म उत्कृष्ट बनेको दाबी उनको छ । अञ्जु पन्त र सुगम पोखरेलले फिल्मका गीतमा आवाज भरेका छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।
Facebook Comment