तनहुँ कांग्रेसको नेतृत्वमा युवा

डिसी नेपाल
८ मंसिर २०७८ १९:५८

काठमाडौँ ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तनहुँमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको नेतृत्वमा युवाको वर्चस्व देखिएको छ । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा क्षेत्र रहेको जिल्लामा युवा नेतृत्वमा आएका हुन् ।

तनहुँ क्षेत्र नं १ को सभापतिमा युवा नेता श्याम मौराती निर्वाचित भएका छन्। यही क्षेत्रको सचिवमा तरुण दलका सचिव दयानिधि नराल र बन्दीपुरका युवा नेता राजु बानियाँ निर्वाचित भएका छन् । सहसचिवमा शैलेश खाती र युवराज आले निर्वाचित भएका छन् ।

तनहुँ क्षेत्र नं २ को सभापतिमा नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष चूडामणि खनाल निर्वाचित भएका छन् । सचिवमा तरुण दल व्यास नगरका कार्यवाहक सभापति जीवन चन्द ठकुरी र सन्तोष घिमिरे निर्वाचित भएका छन् । दुवै क्षेत्रको कार्यसमिति सदस्यमा पनि युवा निर्वाचित भएका छन् ।

तनहुँ क्षेत्र नं २ (क) को सचिवमा युथ कांग्रेसका जिल्ला संयोजक राजेशकुमार श्रेष्ठ अत्यधिक मतसहित निर्वाचित भए । समग्र युवाको प्रतिनिधित्व गर्दै आफू उम्मेदवार बनेको र विजयी भएको उनले बताए । महाधिवेशन प्रतिनिधिमा पनि युवाको उम्मेदवारी रहे पनि केही युवा पराजित हुन पुगे भने केही युवा निर्वाचित भएका छन् ।

नेपाल तरुण दल तनहुँका वरिष्ठ उपाध्यक्ष मोहनकुमार श्रेष्ठ, अधिवक्तासमेत रहेका मिलन आले, नेपाल विद्यार्थी सङ्घका महामन्त्री दीपक भट्टराई, चामबहादुर थापा युवाको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *