अब सधैँका लागि भूमिहीनको समस्या समाधान गर्छौँः मन्त्री श्रेष्ठ
काठमाडौँ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले अब सधैँका लागि भूमिहीनको समस्या समाधान गर्ने गरी आफूले काम गरिरहेको बताएका छन् । आज नेकपा (माओवादी) केन्द्र चाँगुनारायण नगर कमिटीको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै उनले तराईका विभिन्न जिल्लामा रहेका भूमि भएको तर हातमा लालपूर्जा नभएका पीडित व्यक्तिहरू, भूमिहीन सुकुम्वासी र उपत्यकामा रहेको लालपूर्जा विहिन स्ववासीको समस्या समाधान गर्ने बताए।
उनले अब भूमिहीनको विषयलाई लिएर कसैले पनि राजनीति गर्न नपर्ने र कसैको पनि समस्या बाँकी नरहने गरी समस्या समाधान गर्न आफू कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ । मन्त्री श्रेष्ठले आगामी पुससम्ममा भूमिहिन सुकुम्वासी र लालपूर्जा विहिन स्ववासीलाई लालपूर्जा वितरण गर्ने गरी काम अगाडि बढाइएको बताए ।
मन्त्री श्रेष्ठले अब छोरीको नाममा पनि अंशियार कायम हुने संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयनमा ल्याउने गरी आफूले काम गरिरहेको बताउँदै अब आमा, श्रीमति र छोरी पनि अंशियारकै रूपमा मालपोतमा व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याउने उनले बताए । माओवादी केन्द्रका युवा नेता डिपी ढकालले आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने गरी जुट्न कार्यकर्तालाई आग्रह गरे ।
त्यसैगरि आजै माओवादी केन्द्र सूर्यविनायक नगर कमिटीको प्रथम नगर अधिवेशनको र भक्तपुर नगरपालिका नगर कमिटीको प्रथम नगर अधिवेशनको पनि सुरु भएको छ । आजको दुईवटै नगर अधिवेशनको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलीप प्रजापतिले उद्घाटन गरे ।
Facebook Comment