एमाले महाधिवेशन : आफ्नो समूहको पद सुरक्षित गर्दै नेताहरु
चितवन। सर्वसम्मत नेतृत्व चयन गर्न आफैं अग्रसर भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेतादेखि असन्तुष्ट पक्षसँग छलफल गरिरहेका छन्। ओलीले आइतबार विहान आफू निकट नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र भीम रावललाई उपाध्यक्ष पदमा बन्न आग्रह गरेका थिए।
रावलले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् भने नेम्वाङले वरिष्ठ उपाध्यक्ष दाबी गर्दै आएका छन्। पौडेलले भने महासचिवमा दाबी गरेका छन्। तर ओलीले तीनै जना नेतालाई उपाध्यक्ष पदको अफर गरेका हुन्। त्यसपछि ओलीले दश बुँदे सहमति गरेर एमाले फर्किएका नेताहरुसँग छलफल गरेका थिए।
सो भेटमा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यसहितका नेता सहभागी भएका थिए। स्रोतका अनुसार उनीहरुले आफ्नो समूहबाट पदाधिकारीमा रहनुपर्ने नाम ओलीलाई बुझाएका छन्।
त्यसपछि ओलीले पूर्व माओवादीबाट एमाले रोजेका नेताहरुसँग छलफल गरेका थिए। यो छलफलमा ओली पूर्व माओवादी समूहलाई दुई पदाधिकारी र ४० केन्द्रीय सदस्य दिन तयार भएको नेताहरुले बताएका छन्।
उपाध्यक्षमा रामबहादुर थापा बादल र सचिवमा टोपबहादुर रायमाझीको नाम उनीहरुले ओलीलाई बुझाएको भेटमा सहाभागी एक नेताले जानकारी दिए। यसैगरी पूर्व माओवादी समूहलाई ४० केन्द्रीय सदस्य दिन ओली तयार भएका छन्।
Facebook Comment