युएइमा अहिलेसम्मकै सबैभन्दा ठूलो कानुनी सुधार, बलात्कारको सजायमा पनि परिवर्तन
काठमाडौं। संयुक्त अरब इमिरेट्ले आफ्नो देशको कानुनी प्रणालीमा व्यापक सुधारको लागि स्वीकृति दिएको छ । यी सुधारको उद्देश्य सामाजिक स्थिरता र अधिकारको सुनिश्चितताका साथै अवसरहरुमा वृद्धि गर्नु भएको बताइएको छ ।
एक आधिकारिक घोषणाका अनुसार यो कानुनी सुधार अन्तर्गत ४० वटा फरक फरक कानुनमा सुधार गरिनेछ । यस हिसाबले संयुक्त अरब इमिरेट्समा भएको यो अहिलेसम्मकै ठूलो कानुनी सुधार हो । अमिरात न्यूज एजेन्सीका अनुसार यो नयाँ कानुन ‘इयर अफ द ५०’को क्रममा आएको हो र यसको उद्देश्य युइएका विकासात्मक उपलब्धीहरुसँग तालमेल कायम गर्नु हो । साथमा भविष्यका योजनाहरुको लागि पनि आधार दिनु हो ।
डब्लुएएमको रिपोर्टअनुसार कानुनमा संशोधनको उद्देश्य लगानी, व्यापार र उद्योग, संरक्षण, प्रतिलिपि अधिकार, ट्रेडमार्क, ट्रस्ट सेवाहरु र निवास सहित विभिन्न क्षेत्रमा कानुनी संरचनालाई विकसित र स्थापित गर्नु हो । यसका अलावा सामाजिक स्तरमा सुधारको लागि पनि यी कानुनहरुलाई महत्वपूर्ण मानिएको छ ।
यो सुधार अन्तर्गत सामाजिक र व्यक्तिगत सुरक्षा, अपराध र सजाय, अनलाइन सुरक्षा, नशालु पदार्थको उत्पादन, बिक्री र उपयोगलाई नियन्त्रित गर्नको लागि कानुन ल्याइएका छन् । नयाँ कानुनमा बलात्कारको सजायलाई पनि कडा बनाइएको छ । नयाँ संघीय अपराध तथा सजाय कानुन अनुसार बलात्कार वा सहमति बिना शारीरिक सम्बन्धका आरोपीलाई आजीवन कारावासको व्यवस्था गरिएको छ ।
यो नयाँ कानुनअनुसार यदि पीडितको उमेर १८ वर्षभन्दा कम छ वा पीडित विकलांग छन् भने आरोपीको सजायलाई बढाएर मृत्युदण्ड पनि दिइन सक्छ । युएइको सरकारी मिडियाका अनुसार शेख खलीमा बिन जायद अल नाहयानले देशको कानुनी प्रणालीमा व्यापक सुधारलाई स्वीकृति दिए । कानुनमा संशोधन र नयाँ कानुन ल्याएर महिला र घरेलु कामदारको सुरक्षा अझै राम्रो बनाउने प्रयास गरिएको छ । यी कानुन २ जनवरी २०२२ देखि पूर्ण रुपमा लागू गरिनेछन् ।
Facebook Comment