एमाले महाधिवेशन : आफ्नैलाई समेट्न ओलीलाई सकस
चितवन। सर्वसम्मत नेतृत्व चयनका लागि आइतबार दिनभर प्रयासपछि ओली निकट नेताहरुले केन्द्रीय कमिटीको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन्। नयाँ सहमतिमा नेतृत्व चयनका लागि अध्यक्ष ओली आफैं सक्रिय भएका थिए।
ओलीले आफू निकट र आफूसँग असन्टुष्ट दुवै समूहसँग बेग्ला बेग्दै छलफल गरेका थिए। सहमतिका लागि भन्दै विहान दश बजे हुने भनिएको बन्दसत्र अझै हुन सकेको छैन। अहिले उपमासचिव विष्णु पौडेलले बुझाएको सूचीमाथि ओलीले अध्ययन गरिरहेका छन्। उक्त सूचीलाई अन्तिम रुप दिएपछि बन्दसत्र सुरु हुने नेताहरुले बताएका छन्।
केन्द्रीय कमिटीको पदाधिकारी र सदस्यका आकाङ्क्षी प्रतिनिधिकाबीच मत माग्नतिरभन्दा अध्यक्ष ओली र उहाँ निकटका शीर्ष नेतालाई आफ्नो नाम नछुटाउन लविङ गरिरहेका छन्। सहमतिको नाम प्रस्ताव गर्ने अधिकार बन्दसत्रले अध्यक्ष ओलीलाई दिएकाले सबैको दबाब र आशाको केन्द्रमा अध्यक्ष ओली परेका छन्।
अध्यक्ष ओली बसेको होटेल पार्क सफारीमा नेता कार्यकर्ताको आउने जानेक्रम चलिरहेको छ। अध्यक्ष ओलीले विभिन्न नेतासँग सामूहिक र अलगअलग छलफल गरेका छन्। अध्यक्ष ओलीसँग उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, शङ्कर पोखरेललगायत नेताले छलफल गरेका थिए ।
महाधिवेशनमा अधिकांश नेता र प्रतिधिनिले सर्वसम्मतिमा अध्यक्ष ओलीको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन गर्न दबाब दिएपछि शनिबारको बन्दसत्रले ३०१ सदस्यीय केन्द्रीय कमिटीको उम्मेदवारको नामावली प्रस्तुत गर्ने जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको थियो ।
उपाध्यक्ष भीम रावलले सहमतिमा नभई निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने र आफूले अध्यक्षमा उम्मेदवारी दिने अडान लिएपछि सर्वसम्मतिको प्रयासमा कठिनाइ उत्पन्न भएको छ।
Facebook Comment