शंकर पोखरेलको राजनीतिक छलाङ
![शंकर पोखरेलको राजनीतिक छलाङ](https://www.dcnepal.com/wp-content/uploads/2020/10/shankarpokhrel.jpg)
सौराहा। तत्कालीन नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दा शंकर पोरखेल लुम्बिनी प्रदेशका मुख्यमन्त्री थिए। तत्कालीन माओवादीलाईसमेत मिलाएर र पार्टीका महासचिव विष्णु पौडेलमाथिसमेत हावी भएर पोखरेलले प्रदेशको राजधानी बुटवलबाट दाङ लैजान सफल भएका थिए।
पार्टीभित्र प्रचण्डले तत्कालीन प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई अप्ठेरो पारेपछि पोखरेल तत्काल बालुवाटरमा उपस्थित हुन्थे र सकेसम्म प्रचण्ड र माधव नेपाललाई मिलाउने भूमिकमा देखिन्थे। पोखरेलले धेरै हदलसम्म तत्कालीन समयमा पार्टीभित्रको विवाद मिलाएका पनि थिए।
सबैलाई समेट्न र समन्वयकारी भूमिका खेल्न माहिर पोखरेल एमालेभित्र वौद्धिक नेताका रुपमा परिचित छन्। अप्ठेरो परेका बेला सधैं अध्यक्ष ओलीलाई साथ दिँदै आएका पोखरेल एमालेको महासचिव बन्न सफल भएका छन्।
चितवनमा जारी एमालेको दशौं महाधिवेशनमा अध्यक्ष ओलीले पोखरेललाई महासचिवको रुपमा प्रस्ताव गरेर अप्ठेरोमा आफूलाई साथ दिने नेतालाई आफूले पनि गुन लगाउने सन्देश दिएका छन्। नवौं महाधिवेशनमा पोखरेल उपमहासचिवमा पराजित भएका थिए।
अहिले नै पोखरेलले महासचिवमा बाजी मारेका छन्। कम्युनिष्ट पार्टीमा अध्यक्षपछि महासचिव पद महत्वपूर्ण मानिन्छ। पोखरेल राष्ट्रपति विद्यादेवी भण्डारीका विश्वासपात्र समेत मानिन्छन्।
०७४ सालमा भएको संसदीय निर्वाचनमा पोखरेल प्रतिनिधिसभा निर्वाचन नलडी प्रदेशसभामा उम्मेद्वार भएका थिए। उनको उद्देश्य पाँच नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने थियो। उनी पाँच नम्बर प्रदेशको मुख्यमन्त्री पनि बने र पार्टी विभाजनपछि उनले पद गुम्यो।
तीन वर्षसम्म प्रदेशमा रहेका पोखरेललाई अहिले ओलीले महासचिव बनाएर केन्द्रको राजनीतिमा सक्रिय त बनाए नै त्यो भन्दा पनि आफ्नो उत्तराधिकारीका रुपमा पोखरेललाई अगाडि बढाएको चर्चा अहिले सौराहामा चलिरहेको छ।
Facebook Comment