कांग्रेस लमजुङको महासमिति सदस्य निर्वाचन अनिश्चित
![कांग्रेस लमजुङको महासमिति सदस्य निर्वाचन अनिश्चित](https://www.dcnepal.com/wp-content/uploads/2021/11/congress-1.jpg)
लमजुङ । कांग्रेस लमजुङको महासमिति सदस्य निर्वाचन अनिश्चित बनेको छ । ८ मंसिरमा जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधि निर्वाचनको मतपरिणाम सार्वजनिक भइसके पनि महासमिति निर्वाचनको कुनै तयारी छैन ।
जिल्ला अधिवेशनसँगै महाधिवेशन प्रतिनिधि छानिएपछि तत्कालै अगाडि बढाउनुपर्ने महासमिति निर्वाचन प्रक्रिया हालसम्म पनि अघि बढेको छैन । प्रक्रियाअघि बढाएमा निर्वाचन गर्नुपर्ने अवस्था आउने र सकेसम्म सहमतिको आधारबाट महासमिति सदस्य छान्ने गरी छलफल अघि बढाइएको बताइएको छ ।
महासमिति सदस्य छान्ने काम तुरुन्तै बढाउनुपर्ने भए पनि निर्वाचन प्रक्रियामा सहमतिको आधार तयार गर्न स्थगित गरिएको कांग्रेस निर्वाचन अधिकृत थानेश्वर दवाडीले बताए ।
नवनिर्वाचित सभपाति डा.टकराज गुरुङले जिल्ला अधिवेशन सकिएलगत्तै महासमिति सदस्य चुनिहाल्नुपर्ने भए पनि महाधिवेशन प्रतिनिधि सबै काठमाडौं गइसकेको र प्रदेश अधिवेशनपछि छलफलअघि बढाइने बताए ।
जिल्लामा २७ जना महाधिवेशन प्रतिनिधिमध्ये १० जना संस्थापन अर्थात् देउवा पक्ष र १७ जना संस्थापनइतर वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला पक्षधरलगायत छन् ।
कांग्रेसको विधानअनुसार केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट दुई महिलासहित सात प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्रबाट चार जना प्रतिनिधिसभा क्षेत्रको जनसंख्याको बनोटअनुसार समानुपातिक आधारमा केन्द्रीय महासमिति सदस्य निर्वाचित गर्नेछ ।
विधानअनुसार २७ महाधिवेशन प्रतिनिधिबाट ११ जना महासमितिमा छानिनेछन् ।
Facebook Comment