राप्रपा महाधिवेशनः थापालाई चुनौती, लिङ्देनलाई अवसर
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन (मंगलबार) मंसिर १५ गते देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ। राप्रपालाई अधिवेशनको रौनक जति लागेको छ, त्यति नै नेतृत्वको रस्साकस्सी पनि चलेको छ। पार्टी नेतृत्वको दौडमा वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनबीच प्रतिश्पर्धा हुँदैछ।
अध्यक्ष थापाले सोमबार दीपक बोहराको साथ लिएर अध्यक्ष पदमा उम्मेदारी दिने घोषणा गरेका छन्। लिङदेनले भने गत ९ गते नै नेपालगञ्जका मेयर धवलशमशेर राणाको समर्थन लिएर उम्मेदारी घोषणा गरिसकेका छन्।
यसरी थापा र लिङ्दनेको उम्मेदारीले राप्रपाभित्र पहिलो पुस्ता र दोस्रो पुस्ताका नेताबीच प्रतिस्पर्धा हुने निश्चित भइसकेको छ। तर थापा भने पुस्तामा विश्वास नगर्ने बताउँछन्। सोमबार उम्मेदार घोषणा कार्यक्रममा थापाले भनेका छन्, ‘युवा र उमेरको कुरा गर्ने भए टुँडिखेलमा दौडिऔं, म हारेँ भने अध्यक्ष पदको उम्मेदवारी दिन्न।’
तर लिङ्देन भने अग्रज नेताहरुले मुद्दालाई संरक्षण गरेपनि मुद्दा स्थापित गर्न नसकेको आरोप लगाउँदै आइरहेका छन्। उनले समयले परिवर्तन खोजेकाले अबको नेतृत्व अध्यक्षत्रय कमल थापा, प्रकाशचन्द्र लोहोनी र पशुपति शमशेर जबराबाट नचल्ने जिकिर गरेका छन्।
यसरी लिङदेनको उम्मदारी दिने चुनौतीले पार्टी भित्र ठूलै तरंग ल्याएको अध्यक्ष थापाको भनाइले पनि पुष्टि गर्छ। थापाले पार्टीमा सहमतिको लागी आह्वान गर्दै विभाजनको रेखा नकोर्नसमेत चेतावनी दिएका छन्।
‘अग्रज नेतालाई गाली गरेर, बदनाम गरेर नेतृत्व लिन सकिँदैन। त्यस्तो मान्यता स्वीकार्य हुँदैन,’ थापाले भने, ‘जसले यो पार्टी स्थापनाको लागि रगत पसिना बगाएको छ। जसले मुद्दा र बिचारलाई संरक्षण गरे उनीहरुलाई गाली गरेर र एक÷दुई पटक चुनाव जित्दैमा लोकप्रिय बनिदैन।’
थापाको यो भनाइ लिङ्देन र धवलशमशेर राणा लक्षित थियो। राप्रपा शिर्ष नेतृत्व भित्र वर्तमान अवस्थामा जनताबाट निर्वाचित नेता लिङ्देन र राणा मात्र हुन्। लिङदेन २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्वर ३ बाट निर्वाचित भएका हुन् भने राणा २०७३ को स्थानिय निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाबाट नगर प्रमुखमा निर्वाचित भएका हुन्।
अध्यक्ष थापा भने मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर एकबाट पराजित नेता हुन्। बिगतमा धेरै पटक टुट, फुटको शृङखला बोकेको राप्रपा २०४६ सालको परिवर्तन पश्चात कम्युनिष्ट पार्टी पछि धेरै पटक विभाजन भएको राजनीतिक दल हो। धेरै पटक विभाजन हुँदै २०७६ फागुन २४ गते पुनः एकता भएको राप्रपाको यो महाधिवेशन एकताको महाधिवेशन पनि हो।
लिङदेनलाई डा.लोहनीको साथ
आज मंगलबार आयोजना भएको एक कार्यक्रम आयोजना गरि राप्रपाका अध्यक्षसमेत रहेका डा.प्रकाशचन्द्र लोहनीले राजेन्द्र लिङ्देनलाई साथ दिने जनाएका छन्। ‘यो अधिवेशनमा मेरो उम्मेदारी रहँदैन र मेरो समर्थन राजेन्द्र लिङदेनलाई रहने छ।
दुई अध्यक्ष कमल थापा र पशुपति शमशेर जबरालाई पनि पार्टीको अभिभावकीय भूमिकामा रहन अनुरोध गर्दै नयाँ नेतृत्वलाई अवसर दिनुपर्छ,’ लोहनीले भने।
यसरी पार्टीका अध्यक्षसमेत रहेका लोहनीको साथ पाएपछि लिङ्देनको दावी बलियो रुपमा प्रस्तुत भएको छ। उनलाई धवल शमशेरको पनि साथ मिलेको छ। धवल उनकै प्यानलबाट महामन्त्रीमा उम्मेदारी दिने भएका छन्।
थापालाई चुनौती, लिङदेनलाई अवसर
पटक/पटक विभाजन हुँदै एकता भएको राप्रपाको यो महाधिवेशन एकताको पनि महाधिवेशन हो। राप्रपा जति पल्ट विभाजन भएपनि अध्यक्ष कमल थापाकै साथमा रहेका लिङदेन आज उनै थापाको चुनौती बनेका छन्। तत्कालीन राप्रपा (नेपाल)मा रहँदासमेत कमल थापाको साथमा रहँदै महामन्त्रीमा रहेका लिङदेनको उम्मेदारीले थापालाई अचम्म मात्र पारेन बलियो चुनौती समेत बनेर आयो।
थापाले सोमबार आफ्नो उम्मेदार घोषणा कार्यक्रममा समेत लिङदेनले आफूलाई लामो समयसम्म साथ दिएकाले उनको यो उम्मेदारी अप्रत्यासीत भएकाले पार्टीको हित नचाहने तत्वले उचालेको आरोप लगाएका छन्।
उनले भने, ‘केही महिना सम्म राजेन्द्र भाइ मलाई भेट्दा पार्टी एकतालाई बलियो बनाउन हजुरकै नेतृत्व आवश्यक छ भनेको मलाई स्मरण भइराखेको छ। तर आज उनलाई कुन तत्वले उचाल्यो र अध्यक्षको दावी गरिरहनुभएको म अझै पनि आग्रह गर्छु आउनुस् सहमतिमै नेतृत्व चयन गरौँ यो नै पार्टीको हित हुनेछ।’
थापालाई महाधिवेशनमा बलियो चुनौतीका वाबजुद पनि पार्टीका प्रभावशाली नेताहरु दीपक बोहरा, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङलगायतको साथ रहेको छ। लिङदेन भने,डा.लोहनी सहित पशुपति जबरा र युवापंक्तिको साथ मार्फत यो अधिवेशनलाई मौकामा परिणत गर्ने दाउमा रहेका छन्।
Facebook Comment