नेपाली कांग्रेस महोत्तरी ३ को अधिवेशनमा झडप
![नेपाली कांग्रेस महोत्तरी ३ को अधिवेशनमा झडप](https://www.dcnepal.com/wp-content/uploads/2021/12/IMG-20211202-WA0006.jpg.jpg)
महोत्तरी ।नेपाली कांग्रेस महोत्तरी ३ को अधिवेशनमा झडप भएको छ । जारी क्षेत्रीय अधिवेशनको बन्दसत्रमा दुई पक्षबीच झडप भएको हो ।
संस्थापन इतरका विमलेन्द्र निधि र रामचन्द्र पौडेल प्यानलबीच भएको विवाद र अडानले झडप भएको बन्दसत्रमा सहभागीहरूले बताएका छन् । महोत्तरी ३ बाट मनोज झा, रागवेन्द्र झा र रामु यादव सभापतिको आकांक्षी छन् । मनोज झा र रामु यादव विमलेन्द्र निधिनिकट मानिन्छन् भने रागवेन्द्र रामचन्द्र पौडेल निकट हुन् ।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य रामचन्द्र तिवारीको कारण झडप भएको निधि निकट नेताहरूले आरोप लगाएका छन् । ‘रागवेन्द्र झालाई सभापति बनाउने विवादले समस्या सिर्जना भएको हो,’ काङ्ग्रेस महोत्तरीका सचिव सम्भु पाठकले भने । तिवारीले चुनावभन्दा पनि रागवेन्द्र झालाई सर्वसम्मत सभापति बनाउनु पर्ने अडान गरेको तर विमलेन्द्रनिकट नेताहरूले अस्वीकार गरेपछि तिवारी पक्षले टोले गुण्डा परिचालन गरेको आरोप छ ।
मनरासिस्वा नगरपालिका ८ मा बाँकी रहेको वडा अधिवेशन पनि तिवारी पक्ष कै कारण अगाडि बढ्न नसकेको निधि पक्षको आरोप छ । ‘तिवारी तथा पौडेल समूहले वडामा चुनावको तयारी हुँदै गर्दा फर्जी मतदाता ल्याएर निर्वाचन भाड्न खोजेको आरोप छ,’ क्षेत्र नम्बर ३ का उपसभापति विजय साहले भने ।
बन्दसत्रमा भएको झडपमा नेता रामु यादव सामान्य घाइते भएका छन् । तिवारी पक्षले बन्दसत्रमा नै गुण्डा परिचालन गरेपछि निधि समूह छलफल नै नगरी बाहिरिएको साहको भनाइ छ ।
Facebook Comment