बिपीको विचार र अग्रजको योगदान सम्झेर कांग्रेसलाई सुदृढ बनाउन लाग्नुपर्छः सभापति देउवा
![बिपीको विचार र अग्रजको योगदान सम्झेर कांग्रेसलाई सुदृढ बनाउन लाग्नुपर्छः सभापति देउवा](https://www.dcnepal.com/wp-content/uploads/2021/07/ROS_KTM-64873276.jpg)
काठमाडौं ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननायक बिपी कोइरालाको विचार अनि अन्य अग्रज नेताहरुको योगदानलाई स्मरण गरेर सबैले कांग्रेसलाई सदृढ र बलियो बनाउन लाग्नुपर्ने बताएका छन् ।
उनले भर्चुअल माध्यमबाट प्रदेशको पहिलो अधिवेशनको आज उद्घाटन गर्दै सो कुरा बताएका हुन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेशहरुमा पहिलोपटक प्रदेश अधिवेशन शुरु भएको छ । प्रधामन्त्री देउवाले भने, “मलाई विश्वास छ, आज हुने प्रदेश अधिवेशनमा तपाईहरुले कांग्रेसलाई थप सशक्त र बलियो बनाउने र जनताको मन जित्ने गरी रणनीति बनाउने विषयमा पनि छलफल गर्नुहुनेछ ।”
लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि सहादत प्राप्त गर्ने योद्धाहरूमा श्रदाञ्जलि अर्पण गर्दै उनले जननायक बिपी कोइरालाले छाडेर गएको विचार अनि अन्य अग्रज नेताहरुको योगदानलाई स्मरण गरेर अब सबैले कांग्रेसलाई सदृढ र बलियो बनाउन लाग्नुपर्ने बताए ।
प्रधानमन्त्री देउवाले कांग्रेसले सबै ठूला परिवर्तनको नेतृत्व गरेको र समृद्धिको पूर्वाधार खडा गरेको उल्लेख गर्दै आगामी महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा पार्टीलाई विजयी गराउनुपर्ने सबैको दायित्व भएको बताए। सो अवसरमा उनले प्रथम प्रदेश अधिवेशनको पूर्ण सफलताको कामना गर्दै सहभागी सबैलाई बधाई तथा शुभकामना दिएका थिए ।
Facebook Comment