पुरातात्विक सम्पदाको संरक्षणमा प्रदेश सरकारले काम गर्छः मोक्तान
काठमाडौँ ।बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले पुरातात्विक सम्पदाको संरक्षण र विकास हुनुपर्ने बताएका छन्।
बागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम तथा गौ संरक्षण केन्द्र चितवनले आफ्नो स्थापनाको रजत वर्षका अवसरमा आज यहाँ आयोजना गरेको विचारगोष्ठीमा उनले सम्पदा नाश हुने अवस्था आउन नदिन प्रदेश सरकारले गम्भीर भएर काम गर्ने बताए । उनले बागीश्वरीजस्ता आध्यात्मिक परिसरको संरक्षण र विकासका लागि प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता जनाए ।
पूजापाठ हराउँदै गएपछि चितवनका पुरातात्विक सम्पदाको संरक्षणमा चुनौती थपिँदै गएको पुरातत्व विभागले जनाएको छ । पुरातत्व विभागका प्रवक्ता एवं पुरातत्वविज्ञ रामबहादुर कुँवरले पूजापाठ हुन छाडेका सम्पदाको संरक्षणमा चुनौती थपिँदै गएको बताए । कुँवरले चितवन, नवलपुर र तनहुँमा रहेका पुरातत्विक सम्पदाका बारेमा गरिएको अध्ययनबारे जानकारी गराउँदै यस क्षेत्रमा १६औँ शताब्दीसम्मका पुरातात्विक सम्पदा फेला परेको जानकारी गराए । उनले यस क्षेत्रका सम्पदाका बारेमा हुनुपर्ने जति अध्ययन नभएको भए पनि सामान्य अध्ययन भने गरिएको बताए ।
उनले यस क्षेत्रमा पुरातत्विक सम्पदाहरुको संरक्षण र विकास गरी सांस्कृतिक पर्यटनको विकास गर्न सकिने सम्भावना रहेको सुनाए । उनले चितवनका कतिपय सम्पदा नाश हुने अवस्थामा पुगेकामा चिन्ता व्यक्त गरे । “पूजा परम्परा गर्न छाडिएका सम्पदाको संरक्षणमा चुनौती थपिँदै गएको छ”, उनले भने, “पूजापाठ भएका स्थानमा भने सरसफाइ र संरक्षण भएको पाइएको छ ।”
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले योगी नरहरिनाथ र बागीश्वरीलाई सरकारले त्यति प्राथमिकतामा नाराखेकामा दुःख व्यक्त गरे । गोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ दिनेशराज पन्त, पूर्व प्रशासक एवं लेखक सूर्यबहादुर सेन, पुरातात्विक सम्पदाका अध्यता डिआर पोखरेल, बागेश्वरी प्राकृतिक चिकित्सालयका प्रमुख डा हेमराज कोइरालालगायतले धारणा राखेका थिए । देवघाटको नजिक रहेको बागीश्वरीलाई देवघाट र बागीश्वरीको विकास एउटै गतिमा गर्नुपर्नेमा वक्ताहरुको जोड थियो ।
Facebook Comment