राप्रपा महाधिवेशन: मतदान सकियो, एक घण्टामा मतगणना
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सकिएकाे छ।
नेतृत्वमा कमल थापा र राजेन्द्र लिङ्देन प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । बुधवारदेखि सुरू भएको महाधिवेशनमा शनिबार दिउँसो सवा १२ बजेदेखि निर्वाचन सुरू भएको थियो।
निर्वाचन समितिका सह सदस्य सचिव झनक प्याकुरेलले ३९ सय १७ मत खसेको जानकारी दिए । उनकाअनुसार ४३ सय ८० मतदाता रहेकोमा ५ सयभन्दा बढी अनुपस्थित भएका छन्।
प्रदेशअनुसार प्रदेश १ बाट ७७६, प्रदेश २ बाट ५७३, बागमतीबाट ८९०, गण्डकीबाट ४०२, लुम्बिनीबाट ५९५, कर्णालीबाट ३०९, सुदूरपश्चिम प्रदेशबाट ३७२ मत खसेको छ।
अर्का निर्वाचन अधिकृत राजु बस्नेतले खसेको मतमा रुजु गर्ने कार्य भइरहेको र एक डेढ घण्टामा मतदान सुरु हुने बताए । मतपरिणामले उज्यालो नदेख्ने र राति नै नतिजा आउने उनको भनाइ छ । उनकाअनुसार मतगणनामा कम्तिमा दुईघण्टा लाग्नेछ।
उनकाअनुसार एक घण्टामा मुचुल्का लगायत कानुनी प्रक्रिया पूरा गरेर मतगणना सुरू हुनेछ। अध्यक्षमा मतपत्र तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा ८६ मेसिनबाट विद्युतीय मतदान भएको छ ।
Facebook Comment