बाघ संरक्षणको मुख्य चुनौती चोरी शिकारः मन्त्री यादव

डिसी नेपाल
१९ मंसिर २०७८ १७:२०

काठमाडौं।वन तथा वातावरणमन्त्री रामसाहयप्रसाद यादवले चोरी शिकारीका कारण बाघ संरक्षणमा चुनौती थपिएको बताएका छन् । राष्ट्रिय बाघ सर्वेक्षण, २०७८ को आज यहाँ उद्घाटन गर्दै उनले बाघको बासस्थानमा सङ्कुचन, आहारा प्रजातिको कमि, हड्डी तथा छालाका लागि गरिने चोरी शिकारी मुख्य चुनौतीको रुपमा रहेको उल्लेख गरे ।

हड्डी तथा छालाका लागि गरिने चोरी शिकारी र अन्तरदेशीय व्यापार बाघ संरक्षण चुनौतीको विषय बनेको मन्त्री यादवले बताए। बाघको मुख्य बासस्थानमा निर्माण हुने सडक, रेल मार्गलगायत भौतिक पूर्वाधार निर्माण जस्ता कार्यले बाघ संरक्षणमा चुनौती थपिएको उनको भनाइ थियो । सरकारले बाघ संरक्षणलाई विशेष प्रथामिकता दिएको भन्दै उनले संरक्षणकर्मी, स्थानीय तह, सामुदायिक वन, संरक्षण क्षेत्र, नागरिक समाजलगायत मिलेर यसको संंरक्षण गर्नु आवश्यक रहेको बताए ।

विगत एक सय वर्षमा बाघको ९० प्रतिशत बासस्थान मासिएको भन्दै मन्त्री यादवले बासस्थानको संरक्षण मुख्य कुरा रहेको बताए । बाघले नेपालका मुख्य पर्यापर्यटन अभिवृद्धिमा अतुलनिय योगदान पुर्‍याएको भन्दै उनले बाघको संरक्षण गरी यसबाट पाउने लाभलाई बढीभन्दा बढी समुदायमा पुर्‍याउने गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । मानव–बाघबीचको द्वन्द्ध व्यवस्थापन गर्न अन्य निकायसँग सहकार्य गर्न मन्त्री यादवले विभागलाई निर्देशन दिए । बाघ पाइने संरक्षित क्षेत्र तथा जैविक मार्गमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्ने कार्यविधि तयार भई स्वीकृतिको क्रममा रहेको उनले जानकारी दिए । विश्व माटो दिवससमेत रहेको भन्दै मन्त्री यादवले हरेक जीवको आधार हो भने । माटोमा रहेका हरेक प्राणी एक अर्कामा अन्तर सम्बन्धित छन् ।

चितवनमा १६ स्थानमा क्याम्प खडा गरेर प्राविधिकले आजदेखि गणना थालेका छन् । क्यामेरा ट्र्यापिङ विधिबाट बाघ सर्भेक्षण गरिने छ । चितवनमा मात्र ३६० जोडी क्यामेरा जडान गरिने छ । देशभर यो सङ्ख्या ९०० को हाराहारी हुनेछ । उनका अनुसार दुई हप्ता एक ठाउँमा राखेर बाघको तस्बिर लिइनेछ । क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ । दुई दुई ग्रिड अर्थात चार वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राखेर गणना गरिन्छ । बाघ वरिपरी आएमा क्यामेराले तस्बिर लिने छ । झण्डै दुई महिनामा फोटो खिच्ने काम सम्पन्न हुने अनुमान गरिएको छ ।

तस्बिर अध्ययनपछि जुलाई २९ विश्व बाघ दिवसका अवसरमा तथ्याङ्क सार्वजनिक गरिने योजना छ । सन् २००९ देखि राष्ट्रिय रुपमानै बाघको सर्वेक्षण सुरुवात गरिएको थियो । हालसम्मको नतिजालाई हेर्दा नेपालमा सन् १९९५/९६ मा ९३ देखि ९७ वटासम्म वयस्क बाघ रहेको अनुमान गरिएको थियो । सन् २००९ मा १२१, सन् २०१३ मा १९८ र सन् २०१८ को सर्वेक्षण अनुसार २३५ वटा वयस्क बाघ रहेको अनुमान गरिएको ढकालले जानकारी दिए ।

सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए । त्यतिबेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए । यो सङ्ख्या बढेको अनुमान छ । सन् २०१० मा रसियाको सेन्ट पिटर्सवग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेको थियो ।

तत्कालीन समयमा नेपालका निकुञ्जमा १२१ बाघ रहेको तथ्याङ्क थियो । सो प्रतिबद्धता पूरा भएको अनुमान सरोकारवालाले गरेका छन् । नेपालमा हरेका चार पाँच वर्षको अन्तरमा बाघ गणना गर्ने गरिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *