प्रकृतिलाई बिगारेर होइन सिँगारेर विकास गर्नुपर्दछः राष्ट्रपति भण्डारी

डिसी नेपाल
१९ मंसिर २०७८ १७:४१

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई बिगारेर होइन सिँगारेर मुलुकको विकास गर्नुपर्दछ भन्ने भावना नीतिनिर्माणका सबै तहमा गहिरोसम्म स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आज यहाँ आयोजना गरेको राष्ट्रिय कार्यक्रममा उनले मानव र प्रकृति एकअर्कासँग जोडिएको उल्लेख गर्दै हाम्रो अस्तित्व पर्यावरणको सन्तुलनसँग गाँसिएको हुन्छ भने । उजले भने, “यसलाई गहिरोसँग आत्मसाथ गर्दै जलवायु परिर्वतनले ल्याउने चुनौतीको सामना गर्न समुदायस्तरदेखि नै गरिने प्रयासमा महासङ्घजस्ता संस्थाको महत्वपूर्ण भूमिका रहन्छ ।”

राष्ट्रपति भण्डारीले वनजङ्गलको संरक्षणद्वारा प्रकृतिलाई जोगाउने कार्यभार र अर्कोतिर महिला हिंसा उन्मूलनलगायत विविध सामाजिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकामा महासङ्घलाई धन्यवाद दिए । उनले वनको दिगो व्यवस्थापनका माध्यमबाट गरिने जनताको जीविकोपार्जनजस्ता कार्यले वातावरण र जैविक विविधताको संरक्षणका साथै जलवायु अनुकूलन र न्यूनीकरण, सामुदायिक विकास तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

महासङ्घले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न चेतनामूलक सामाजिक कार्यक्रम सञ्चालन गरेकामा खुशी व्यक्त गर्र्दै राष्ट्रपति भण्डारीले अभियानमा सक्रिय भई सभ्य समाज निर्माण गर्ने कार्यमा सफलता मिलोस् भन्ने शुभकामना दिए । उनले उक्त अभियानमा आफ्नो क्षेत्रबाट योगदान गर्न सरोकारवाला सबै सरकारी निकाय तथा सामाजिक सङ्घसंस्थालाई आह्वानसमेत गरे ।

कार्यक्रममा महासङ्घका अध्यक्ष भारती पाठकले लैङ्गिक हिंसा उन्मूलनका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला सरकारी निकाय र सामाजिक संस्था जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताए । नगरपालिका सङ्घका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्यञ्जुले महासङ्घले वन संरक्षणका साथै सामाजिक सशक्तिकरणमा पनि योगदान गरेकामा खुशी व्यक्त गरे । कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष घनश्याम पाण्डे, सचिव ठाकुर भण्डारीलगायतले महासङ्घले नाङ्गा डाँडालाई वनजङ्गल संरक्षणमार्फत हरियाली बनाउने काम मात्र नभई आर्थिक, समाजिक तथा सचेतनामूलक कार्यसमेतमा विभिन्न कार्य गर्दै आइरहेको जानकारी गराए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *