मानवअधिकार रक्षाका लागि सबै क्रियाशील हुनुपर्छः उपराष्ट्रपति पुन

डिसी नेपाल
२२ मंसिर २०७८ १७:१५

काठमाडौं ।उपराष्ट्रपति नन्दबहादुर पुनले मानवअधिकार रक्षाका लागि सबैले आ–आफ्नो क्षेत्रबाट क्रियाशील रुपमा भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

त्रिहत्तरऔँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा १३ औँ मानवअधिकार महाभेलाकोे उद्घाटन गर्दै उनले शान्तिप्रक्रिया टुङ्ग्याउने विषयमा विश्वको ध्यान नेपालतर्फ आकर्षित भइरहेको हुँदा सबै मानवअधिकारकर्मी मिलेर त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

“नेपालले मानवअधिकारलगायत अन्तर्राष्ट्रिय अन्य सन्धि महासन्धिमा हस्ताक्षर गरेकाले त्यसको उद्देश्य र लक्ष्यअनुसारको नेपालले काम गनुपर्ने अवस्था छ”, उनले भने, “त्यसअनुरूप नेपालले कार्यान्वयनमा ध्यान दिनुपर्छ ।” उपराष्ट्रपति पुनले मानवअधिकार महासन्धिले गाँस, बास, कपास, स्वास्थ्य शिक्षासहित स्वतन्त्रतापूर्वक बाँच्न पाउने हकको रक्षा नै मानवअधिकार भएको ठहर गरेको भए पनि स्वास्थ्य र शिक्षा पूर्णरूपमा निःशुल्क गर्न नसकिएको बताए ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सबै समुदाय, क्षेत्र र वर्ग सबैलाई समानरुपमा मानव अधिकारको उपयोग गर्न पाउनुपर्ने बताए । मानव अधिकारकर्मी दमननाथ ढुङ्गानाले नेपाली नागरिकले लोकतन्त्र ल्याउनका लागि दिएको बलिदानको अर्थपूर्ण भए मानव अधिकारको दृष्टिकोणले राम्रो हुने बताए ।

महाभेलाका संस्थापक अध्यक्ष चरण प्रसाईले नेपालमा शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउनुपर्ने जरुरी भएको र त्यसका लागि सबैले ध्यान दिनुपर्नेमा जोड दिए । महाभेलाका संयोजक रोशना खड्काले मानवअधिकार रक्षामैत्री समाजको परिकल्पनाका लागि ऐक्यबद्धता र प्रतिबद्धता जनाउँदै महाभेलामा सहभागी सङ्घ संस्था, व्यक्ति, अतिथि सबैप्रति आभार व्यक्त गरे ।

महाभेला सप्ताहव्यापी कार्यक्रम गरेर मनाउने तयारी छ । त्यसमा सक्रियतापूर्वक सहभागिता जनाउन पनि संयोजक खड्काको आग्रह छ । यस वर्ष मानवअधिकार राष्ट्रिय महाभेला कदर सम्मान– २०७८ बाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई र मानवअधिकार राष्ट्रिय महाभेला कदर सम्मान–२०७७ बाट भद्रमान घलेलाई सम्मान गरियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *