काँग्रेसको निर्वाचन कार्यक्रम सार्वजनिक: मतदान सानेपामा, मतगणना राष्ट्रिय सभागृहमा

काठमाडौं । नेपाली काँग्रेसले १४ औं महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । काँग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले एक सुचना जारी गर्दै नेतृत्व चयनका लागि मंसिर २७ गते मतदान हुने जनाएका छन् ।
महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन मंसिर २४ गते बिहान १० बजे हुनेछ भने उम्मेदवारको मनोनयन दर्ता मंसिर २५ गते बिहान १० देखि ५ बजेसम्म हुनेछ ।
यस्तै दावी विरोधको समय २५ गते बेलुका ७ देखि ९ बजेसम्म राखिएको छ भने उम्मेदवारको पहिलो नामावली प्रकाशन सोही राति ९ देखि १२ बजेसम्म हुनेछ । यस्तै मनोनयनपत्र फिर्ताका लागि मंसिर २६ गते बिहान ११ बजेसम्मको समय दिइएको समितिले जनाएको छ ।
त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर मंसिर २७ गते बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको छ । यो सबै कार्यक्रम काँग्रेस केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।
निर्वाचन सम्पन्न भएपछि सभापति पदको मतगणना लगत्तै सुरु गरिनेछ । मतगणना भने राष्ट्रियसभा गृहमा हुनेछ । सभापतिको लागि दोस्रो चरणको निर्वाचन गर्नुपरेमा पनि लगत्तै गरिनेछ । सभापतिको हकमा राष्ट्रिय सभागृहमै र अन्य पदाधिकारी र सदस्यहरुको मतगणना पार्टी कार्यालयमा गर्ने निर्वाचन समितिले जनाएको छ ।
Facebook Comment