कांग्रेसको संस्थापन इतर समूहमा सहमति जुटेन, बैठक भोलि पुनःबस्ने

काठमाडौं ।नेपाली कांग्रेसको संस्थापन इतर समूहको सभापतिको साझा उम्मेदवार तय गर्न बसेको बैठक विना निष्कर्ष सकिएको छ । पार्टीका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा आज साँझ बसेको बैठकमा सभापतिको आकाङ्क्षीबीच कुरा मिल्न नसक्दा विना निष्कर्ष टुङ्गिएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता गुरुराज घिमिरेले उम्मेदवार चयन प्रक्रिया सकारात्मक रहे पनि अन्तिम टुङ्गोमा पुग्न भने नसकिएको बताए । “भोलि बिहान ८ बजे केन्द्रीय समितिका साथी बसेर साझा उम्मेदवार चयन गर्नेछौँ”, उनले भने ।
कांग्रेस नेता डा रामशरण महतले अधिकांश नेताहरुको मिलेर साझा उम्मेदवार चयन गर्नुपर्छ भन्ने रहेको भन्दै भोलि बेलुकासम्म साझा उम्मेदवार चयन गर्ने बताए । कांग्रेसको संस्थापन इतर समूहमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री सिंह र नेता डा शेखर कोइराला सभापतिको आकाङ्क्षी छन् ।
Facebook Comment