कांग्रेसको १४औं महाधिवेशनमा रामचन्द्र पौडेलको ‘वाकओभर’, राजनीतिक प्रतिस्पर्धामा नरहेको घोषणा

डिसी नेपाल
२५ मंसिर २०७८ ११:३६

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल १४औं महाधिवेशनमा प्रतिस्पर्धामा देखिने छैनन् । महाधिवेशनको उदघाटन सत्रसम्म पौडेल सभापतिमा उम्मेदवार बन्ने चर्चा थियो । तर, संस्थापन इतर समूहमा सभापतिका अन्य आकांक्षीले अडान राखेपछि पौडेलले अब राजनीतिक प्रतिस्पर्धा नगर्ने घोषणा गरेका हुन् ।

शनिबार बिहान बोहोराटारस्थित आफ्नो निवासमा कार्यकर्तासँग भेट गर्दै पौडेलले जारी महाधिवेशनमा आफू सहभागी भए पनि कुनै पदका लागि उम्मेदवारी नदिने स्पष्ट पारे । भेलामा गगन थापा, बद्री पाण्डे, मिनेन्द्र रिजाल, दिलेन्द्र बडूलगायत नेता उपस्थिति थिए ।

लामो समयदेखि संस्थापन इतरको समूहबाट सहमतिमा सभापतिको साझा उम्मेदवारी दिने जनाएका थिए । तर, अन्तिम समयसम्म पनि साझा उम्मेदवार बन्ने अवस्था नभएपछि पौडेलले ‘वाकओभर’ गरेका हुन् । पौडेलले आफू उम्मेदवार नबन्ने घोषणा गरे पनि आफ्नो समर्थन कता हुने भन्ने कुरा भने खुलाएनन् ।

उमेरले ८१ वर्ष लागेका पौडेलले अहिलेसम्म आफूले नेता कार्यकर्ताको संरक्षण गर्दै आएको बताएका थिए । ‘आजसम्म मैले जे जसरी नेता कार्यकर्ताको संरक्षण गरें गरें । आजदेखि तपाईहरू आ-आफ्नो संरक्षण गर्नुहोस् । अब राजनीतिक प्रतिस्पर्धा रहिनँ,’ पौडेलको भनाइ उद्धृत गर्दै भेलामा सहभागी पत्रकार अजयबाबु शिवाकोटीले जानकारी दए ।

१३औं महाधिवेशनमा उनी सभापतिका उम्मेदवार भएका थिए । उनले पार्टी सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए । तर, उनी दोस्रो चरणको मतदानमा पराजित भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *