माओवादीका सबै कमिटी उत्पादनको एकाइ बन्नुपर्छः अर्थमन्त्री शर्मा

काठमाडौं।नेकपा (माओवादी केन्द्र)का सङ्गठन विभाग प्रमुख तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले माओवादीका सबै कमिटी उत्पादनको एकाइ बन्नुपर्नेमा जोड दिएका छन् ।
नेकपा (माओवादी केन्द्र)को आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ को उद्घाटन सत्रमा बोल्दै सङ्गठन विभाग प्रमुख तथा अर्थमन्त्री शर्माले समृद्धिको प्रणालीमा युवालाई जोडेर समृद्धिको अभियान थाल्ने योजना अगाडि बढाइने बताए। माओवादीको एजेण्डा बलियो हुँदा पनि स्वामित्व लिन नसक्दा प्रतिगामीहरू जुर्मराएको उनले टिप्पणी गरे ।
अर्थमन्त्री शर्माले सम्मेलन समीक्षाको उत्सव भएको तर्क गर्दै कर्णालीका जनताको आन्दोलन युद्धका सेनाभन्दा पनि माथि रहेको भनी प्रशंसा गरे। “पछिल्लो समयमा हामी विचार छाडेर झोक्रायौँ । सङ्गठनमा विधि र पद्धति पनि भएन”, उनले भने, “अब नयाँ विचारको सुरुआत हुनेछ । जसले विधि, कार्यशैली र कार्यदिशा के हो ? निश्चित गरेर मार्गचित्र कोर्दै कर्णालीको आत्मनिर्भर पृष्ठभूमिलाई जोगाउनेछ ।”
माओवादी केन्द्रका कर्णाली प्रदेश इन्जार्च शक्तिबहादुर बस्नेतले आजको व्यवस्थाको इञ्जीनियरिङ माओवादीले गरेको दाबी गर्दै यसको पाइलटिङ पनि माओवादीले नै गर्नुपर्नेमा जोड दिए । माओवादी हार्दा जनताले हार्ने भन्दै उनले हार्ने सुविधा नभएको समेत जिकिर गरे ।
Facebook Comment