फेरि बढाइयो कांग्रेसमा मतदानको समय, तीन हजार ५०८ मत खस्यो

डिसी नेपाल
२७ मंसिर २०७८ २०:२२

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गतको मतदानको समय थप गरिएको छ । सोमबार मध्याह्न १२ बजेबाट सुरु भएको मतदान राति ९ बजेसम्मका लागि तय भएको भए पनि तोकिएको समयमा मतदान नसकिने भएपछि समय बढाइएको छ ।

कांग्रेस निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठका अनुसार ९ बजेसम्मलाई निर्धारण गरिएको मतदानको सयम १० बजेसम्मलाई बढाइएको छ ।

१२ बजेदेखि सुरु भएको मतदानमा अहिले साँझ ७ः४५ बजेसम्म तीन हजार ५०८ मत खसेको छ ।

एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा एक हजार १०० र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण)मा दुई हजार ४०८ मत खसेको हो ।

निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ । कांग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसाल्नुभएको थियो । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ ।

कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *