महामन्त्री शर्माले भेटे जनआन्दोलनका घाइते कायस्थलाई

डिसी नेपाल
२ पुष २०७८ १६:३२

काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले जनआन्दोलनका घाइते मुकेश कायष्थसँग भेटघाट गरेका छन् । दोस्रो जनआन्दोलन २०६२/६३ मा गम्भीर घाइते भएका कायष्थलाई महामन्त्री शर्माले काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका–८ स्थित उहाँकै घरमा भेटघाट गरेका हुन्।

‘अर्धचेत’ अवस्थामा रहनुभएका कायष्थलाई भेट गर्दै शर्माले जनआन्दोलनका घाइते र शहीदको भावनाको कदर गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे । लोकतन्त्र प्राप्तिका लागि जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते १५ वर्षीय कायष्थ बनेपाको तीनदोबाटोमा बाँया कञ्चटमा प्रहरीको गोली लागी गम्भीर घाइते भएका थिए । त्यस दिनयता उनको होस् अझै खुल्न सकेको छैन । उनको बाँया हातसमेत राम्रोसँग चल्दैन ।

“जिम्मेवारी सुरु गर्दा जिउँदो शहीद मुकेश र उनको परिवारकै सामु शपथ खान्छु”, भेटका क्रममा महामन्त्री शर्माले भने । उनीहरुकै योगदानका कारण आजको दिन आएको शर्माको भनाइ थियो । “व्यवस्था ठीक छ, अवस्था बदल्ने हो”, उनले थपे, “अवस्था बदल्यौँ भने मुकेश कायष्थ फेरि अरु कसैले बन्नु पर्दैन ।” देशको राजनीति सही बाटो हिँडे घाइते तथा शहीदको सपना पूरा हुने महामन्त्री शर्माको भनाइ थियो ।

अर्धचेत अवस्थाका ३१ वर्षीय कायष्थ १६ वर्षदेखि श्ययामा सुतिरहेका छन् । उनी तीन वर्षदेखि दुब्लाउँदै गएका छन् भने पहिले जस्तो हाँस्न र बोल्न छाडिुकेका छन् । “पीरमाथि पीर थपिएको छ, छोरा ठीक होला भन्ने आशा अझै मरेको छैन”, कायष्थकी आमा मिराले शर्मासँग भेटका क्रममा भने ।

लामो समय उपचारका क्रममा चपाएर खाना खान नसक्ने मुकेशलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएकामा हाल पेटमा पाइपद्वारा खानेकुरा दिइएको छ । “मुकेशले मुखबाट नखाएको तीन वर्ष भइसक्यो”, उनका बाबु कृष्णमानले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *