महिला तथा अपाङ्गता भएकालाई उद्यमी बनाउनु पर्छ : मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले उद्योग क्षेत्रमा महिला र अपाङ्गता भएका व्यक्तिको समेत सहभागिता हुनु जरुरी रहेको बताएका छन्। चितवन उद्योग सङ्घले आजदेखि यहाँ सुरु गरेको छैठौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उनले औद्योगिक क्षेत्रमा महिला र अपाङ्गता भएकाको समेत सहभागिता आवश्यक रहेको बताएका हुन्।
उद्योगलाई महिला र अपाङ्गमैत्री बनाउन सकेमा मात्रै सबै क्षेत्रको सहभागिता हुने उनको भनाइ थियो । उनले भने, “अब स्थापित हुने उद्योग महिला र अपाङ्गमैत्री कसरी बनाउन सकिन्छ भन्ने विषयमा सोचेर उनीहरुलाई पनि उद्योगी बनाउन जरुरी रहेको छ ।” प्रदर्शनीले नेपालमा नै केही गर्न सकिन्छ भन्ने देखाउन सहयोग पुग्ने जनाउँदै उनले आफ्नै मुलुकको उत्पादनलाई प्राथमिकता दिन जरुरी रहेको बताए।
शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माणका लागि आफुले सरकारलाई झकझक्याउने उनको भनाइ थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोख्रेलले उद्योगका क्षेत्रमा उद्योग सङ्घले गरेका कामको प्रशंसा गरे। नेपालमा रहेका उद्योगलाई विदेशी उद्योगसँग प्रतिस्पर्धायोग्य बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।
सो अवसरमा उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोख्रेलले उद्योग क्षेत्रले गरेको प्रगतिले आयात र निर्यातलाई सन्तुलन राख्ने गरि काम गर्नुपर्ने बताए। उद्योग क्षेत्रको विकासका लागि मन्त्रालय रचानात्मक सहयोग गर्न तयार रहेको उल्लेख गरे । नेकपा (एमाले)का केन्द्रीय सदस्य जगन्नाथ थपलिया, नेपाली कांग्रेसका जिल्ला सचिव राजिव न्यौपाने, नेकपा (माओवादी केन्द्र)का भरतपुर महानगर अध्यक्ष ईश्वर सापकोटा, नेकपा (एकिकृत समाजवादी) का जिल्ला अध्यक्ष डा. कृष्णराज पन्त, उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कंडेलले बोलेका थिए ।
Facebook Comment