एमसीसी संसदमा पेश हुन दिँदैनौं : लिलामणि पोखरेल (भिडियाे)

डिसी नेपाल
३ पुष २०७८ १०:३३

काठमाडौं। सरकारले एमसीसी सम्झौतालाई अनुमोदनका लागि संसदमा पेश गर्ने तयारी गरेका बेला माओवादी केन्द्रका प्रभावशाली नेता लिलामणि पोखरेलले माओवादीले कुनै पनि हालतमा एमसीसी संसदमा पेश गर्न नदिने बताएका छन्।

डिसी नेपालको प्रस्तुती द बिज टकमाका अर्जुन दाहालसँग कुरा गर्दै नेता पोखरेलले आफूहरुले एमसीसी संसदमा पेश हुन नदिने बताएका हुन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरुको सम्झौता लागू गर्ने र सर्वदलीय बैठकको निर्णय मान्ने अभिव्यक्ति दिइरहेका बेला अध्यक्षसँग मत बाँझिने गरी पोखरेलको अभिव्यक्ति आएको हो।

‘अहिले एमसीसीलाई संसदमा पेश गर्ने तयारी भएको चर्चा सुनिएको छ, तर एमसीसीलाई हामी संसदमा पेश हुन दिँदैनौं,’ पोखरेलले भने, ‘एमालेले हामी बाहिरै बसेर सरकारलाई समर्थन गर्छौं, एमसीसी अगाडि बढाउ भनिरहको छ। तर हामी यो सम्झौता संसदमा पेश हुन दिँदैनौ। ’

पोखरेलले एमसीसी सम्झौता संशोधन नगरी पारित गर्न नहुने पार्टीको आधिकारिक धारणा रहेको जनाए। शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एमसीसीका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउन आग्रह गरेका थिए।

उनले सर्वदलीय बैठकबाट आउने निष्कर्षका आधारमा आफ्नो पार्टीले धारणा बनाउने भन्दै एमसीसी पारित गर्ने संकेत गरेका थिए। तर माओवादी भित्र भने एमसीसी पारित गर्ने विषयमा मतभेद देखिएको हो।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी अघि बढाउन तत्कालीन सभामुख कृष्णबहादुर महराले रोकेका थिए। कतिपयले नेकपा विभाजनको बिउ एमसीसीले रोपेको समेत टिप्पणी गर्दै आएका छन्। अहिले पनि सभामुख माओवादी केन्द्रको भएका कारण उनले एमसीसीलाई संसदको कार्यसूचीमा चढाउने हुन वा होइनन् भन्नेमा प्रचण्डको भूमिका महत्वपूर्ण हुन्छ।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *