अदालतको मर्यादा विपरित एमालेः अध्यक्ष नेपाल

डिसी नेपाल
४ पुष २०७८ २१:४३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको संविधान, सङ्घीयता, गणतन्त्र र परिवर्तनको पक्षमा एमाले नरहेको जिकीर गरेका छन् । समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले जनादेशको भावना, अदालतको मर्यादा, विधिविधानलाई एमालेले उल्लङ्घन गरी संसद्लाई अगाडि बढ्न नदिएको बताए ।

देश विकासका लागि मुलुकमा रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले आफ्नो पार्टीले प्रतिभाशाली मेहनती बौद्धिक, बुद्धिजीवी व्यक्तिको आविष्कार गर्न चाहेको उल्लेख गरे । अध्यक्ष नेपालले आफ्नो पार्टीले अवलम्बन गरेका आदर्शका कारण अहिले पूर्वमेचीदेखि पश्चिम महकालीसम्मका पार्टीप्रति जनताको आकर्षण बढेको र पार्टी प्रवेशमा जनलहर देखा परेको प्रष्ट पारे ।

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुलुकको आवश्यकताअनुसार शिक्षा क्षेत्रमा विकास गरी दक्षजनशक्तिलाई उत्पादनमा जोड्नुपर्ने बताए। पार्टीका नेता मुकुन्द न्यौपानेले शिक्षालाई व्यापारीकरण गर्न राजनीतिज्ञले पनि निजी क्षेत्रमा लगानी गरेको उल्लेख गर्दै खराब मनाशयबाट यस क्षेत्रमा हुने राजनीतिलाई न्यूनीकरण गर्न उनीहरूका संलग्नतालाई रोक्नुपर्ने विचार व्यक्त गरे ।

पार्टीका पोलिटब्यूरो सदस्य दीलुकुमारी पन्तले संविधानको मौलिक हकमा शिक्षाको अधिकार प्रत्याभूत गरिएको भए पनि सर्वसुलभ गुणस्तरीय शिक्षा प्राप्ति आम नागरिकको पहुँचमा पुग्न नसकेकाले सरकार संवेदनशील हुनुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *