फोनबाट प्रेम प्रस्ताव राखेका धुर्मुसको रोचक प्रेम प्रसंग
कलाकारको रूपमा कुन्जना घिमिरेलाई नचिन्ने सायदै होलान् । सानोपर्दाको हाँस्यशृङ्खला ‘मेरी बास्सै’मा सुन्तली नामको चरित्र निर्वाह गरेर सर्वत्र चिनिएकी उनको परिचय पछिल्लो समय समाज सेवीको रूपमा पनि अगाडि आउने गर्छ । कलाकारिताकै जोडी अभिनेता सिताराम कट्टेलसँग प्रेम विवाह गरेकी उनी सीतारामसँगै समाज सेवामा पनि लागिपरेकी छन् । सानो पर्दाको अलवा विज्ञापन, चलचित्रमा पनि बाक्लै देखिने उनी अहिले चलचित्र निर्माणको तयारीमा छिन् । यिनै हाँस्य अभिनेत्री कुन्जना घिमिरेसँग दश प्रश्न ।
पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ? : २, ४ वटा कार्यक्रम र विज्ञापन अभिनयमा व्यस्त छु । अर्काे काम क्रिकेट मैदानको पेपर वर्क भइरहेको छ । एक चलचित्र बनाउने तयारी पनि गरिरहेका छौँ ।
सानो पर्दामा अब नछाउने हो ? : अहिले नभ्याएर हो, नछाउने भन्ने होइन । कलाकार हुँ, कलाकारका लागि सानो, ठूलो पर्दा भन्ने हुँदैन । जताततै छाउने हो । अहिले विभिन्न कामले र चलचित्रको तयारीमा लागेको कारण नभ्याएकी हुँ । हाम्रो चलचित्रप्रति दर्शकको ठूलो अपेक्षा रहनछ । त्यो अपेक्षा पूरा गर्न होमवर्कमा लागेका छौँ । सानो पर्दामा अहिले माया मारेको होइन । म सानो पर्दाबाट चिनिएको कलाकार हुँ । यसलाई माया मार्न सक्दिनँ ।
निर्माणको तयारीमा रहेको चलचित्रको हिरोइन आफै हो त ? : अहिले यसै भन्न सक्दिनँ । म पनि अभिनय गर्छु । अहिले कथाको तयारी भइरहेको छ । कोको कलाकार हुन्छन् भन्न सक्ने अवस्था छैन ।
सौन्दर्यको कति ख्याल गर्नुहुन्छ ? : पहिला पहिला म सौन्दर्यमा कन्सेन्स थिइनँ । पछिल्लो समय धेरै सामाजिक भएपछि फाउन्डेसन चलाएपछि र कार्यक्रममा व्यस्त हुन थालेपछि भने निकै ध्यान दिन थालेकी छु । धेरैले आफ्नो सौन्दर्य मेन्टेन गर्नुपर्छ भनेर पनि सुझाए । अर्काे कुरा सौन्दर्य नारीको विशेष शृङ्गार पनि हो । अहिले सौन्दर्यमा निकै ख्याल गर्छु । सन् ब्लकक्रिम, फाउन्डर, लिपस्टिक, गाजल अचेल लगाउन कहिल्यै छुटाउँदिन ।
फिटनेसमा कति ध्यान दिनुहुन्छ ? : म अलि फुडी छु । आफूलाई फिट राख्नुपर्छ भन्ने पनि थाहा नभएको होइन । त्यसैले अहिले भर्खर जिम जान थालेकी छु । खाने कुरामा ध्यान रहन्छ । भर्खर मेन्टेनतिर लागेकी छु । बिहान खान्छु, बेलुका खाँदिनँ ।
फेसनतिर रुचि छ, कि छैन ? : रुचि छ तर पनि पहिला म आफूलाई सजिलो के हुन्छ भनेर हेर्ने गरेकी छु । दोस्रो राम्रो देखिन्छु कि देखिदिन भनेर हेर्छु ड्रेसहरू धेरै सपिङ गर्न मनपर्छ । वान पिस, गाउनहरूमा म राम्रो देखिन्छु । सारी पनि सुहाउँछ ।
मनपर्ने खानेकुरा ? : बाहिर खानुपर्दा चिकेन मम मनपर्छ । घरमा भने गुन्द्रुक मनपर्छ ।
गीत सङ्गीत नि ? : सबैखालको गीत सङ्गीत मनपर्छ । समय र परिस्थितिअनुसार गीत सुन्छु । लोक, आधुनिक, सेन्टिमेन्टल सबै सुन्छु । म सङ्गीत प्रेमी छु ।
प्रेम विवाह गर्नुभयो । पहिलो प्रेम प्रस्ताव कसले राखेको थियो ? : उहाँले राख्नुभएको थियो । हाम्रो करियर एउटै थियो । हामी जीवनसाथी बन्दा सजिलो हुन्छ होला भनेर धुर्मुसजीले प्रेम प्रस्ताव राख्नुभयो । उहाँ बाहिर मसँग धेरै बोल्न सक्नु हुँदैन थियो । त्यसैले फोनबाट प्रेम प्रस्ताव राख्नुभएको थियो ।
पूरा नभएको सपना ? : सपनाहरू धेरै छन् । म सपना साँच्न रुचाउँछु । सानोदेखि नै मैले करिस्मा दिदी, रेखा थापा, गौरी मल्ललगायतको अभिनय हेरेर हिरोइन बन्ने सपना पालेकी छु । हेरौँ के हुन्छ ।
Facebook Comment