प्रदेश खेलकुद नीति बनाउँछौँः मुख्यमन्त्री पोखरेल

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश खेलकुदलाई व्यवस्थित बनाउन प्रदेश खेलकुद नीति निर्माणका लागि पहल सुरु गर्ने बताएका छन् ।
प्रदेश खेलकुद परिषद् गण्डकीद्वारा आयोजित तीन महिने सहायक प्रशिक्षक प्रशिक्षण तालिमको आज उद्घाटन गर्दै उनले प्रशिक्षणले खेलाडीको मनोवल उच्च राख्ने विश्वास व्यक्त गरे । उनले जसरी हामीले प्रदेशको स्वास्थ्य र शिक्षालाई प्रभावकारी बनाउन नीति बनायौँ त्यसरी नै प्रदेशको खेलकुदलाई व्यवस्थित बनाउन खेलकुद नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेशको खेलकुद विकासलाई अघि बढाउन सरकारसँग भएको स्रोत र साधनको समुचित उपयोग गर्दै अघि बढने विश्वास व्यक्त गर्दै उनले उच्चस्तरको समिति गठन गरेर प्रदेशभित्रका जग्गाको खोजी गरिने जानकारी दिए । प्रदेशको हिमाली, पहाडी र तराईमा कुन खेल कहाँ गर्ने भन्ने विषयमासमेत अध्ययन गरिने बताउँदै उनले गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद आयोजना हुनु प्रदेशका लागि गौरवको विषय रहने विश्वास व्यक्त गरे ।
यूवा तथा खेलकुद मन्त्रालयका सचिव ध्रुव गैडाले खेलकुद क्षेत्रको विकासका लागि मन्त्रालय गम्भिर भएर अघि बढेको बताउँदै खेलकुदको विकासको लागि सबैको साथ र सहयोग आवश्यक रहनेमा जोड दिए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले प्रदेशको खेलकुद विकास र खेलाडीको भविष्यका लागि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुट्नुपर्ने समय आएको बताउँदै प्रदेशमा आवश्यक खेलकुद पूर्वाधारको निर्माणमा पहल गर्नुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा खेल विज्ञ डा प्रकाश प्रधान र डा पदम खडकाले समग्र सामाजिक परिवर्तन र आर्थिकरुपान्तरणका लागि खेलकुदको विकास अपरिहार्य रहने बताए ।
Facebook Comment