टिएमजे क्षेत्रमा हिमपात
तेह्रथुम। तेह्रथुम र संखुवासभा जिल्लाको सीमावर्ती उच्च लेकाली क्षेत्रको तिनजुरे, चौकी, गुफापोखरी क्षेत्रमा हिउँ परेको छ । शुक्रबार दिउँसो परेको हिमपातका कारण पशुचौपया र मानव जनजीवन प्रभावित भएको छ।
पानीसँगै परको हिउँका कारण अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर भएको स्थानीय छिरिङ सेर्पाले बताए । हिउँ परेका कारण सडकसमेत अवरुद्ध बनेको छ ।
जाडोका कारण बालबालिका र वृद्धवृद्धालाई समस्या बनेको छ । हिउँले यतिबेला टिएमजे क्षेत्र ढाकेर सेताम्य बनेको छ । हिउँ परेका कारण सडक अवरुद्ध हुँदा दर्जनौँ सवारी साधनबीच बाटोमै थन्किएका छन्। यस क्षेत्रमा पाल्दै आएका चौरी, गाईभैसी र भेडाबाख्रा चरनमा समेत समस्या भएको स्थानीयले बताएका छन् ।
हिउँ परेका कारण बजार क्षेत्रमा चहलपहल कम भएको टुटे देउरालीका श्री कार्कीले बताए । ‘पानीसँगै हिउँ परेको कारण जाडो अत्यधिक बढेको छ । जाडोका कारण पशुचौपया र मानिसलाई कष्ट बनेको छ,’ उनले भने । खासगरी यो क्षेत्र पर्यटकको लागि हिउँ पर्ने सिजन र गुराँस फुल्ने सिजन आकर्षक बन्दै आएको छ ।
Facebook Comment