पोखरेलको बदलामा पोखरेल

डिसी नेपाल
११ पुष २०७८ १५:४६

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ । तर, महाधिवेशनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भने गएनन् । ओलीले आफ्नो प्रतिनिधिको रुपमा पार्टीका तर्फबाट महासचिव शंकर पोखरेललाई पठाएका छन् ।

तत्कालीन नेकपाको विभाजनपछि एमालेबाट माधवकुमार नेपालको समूह एकीकृत समाजवादी पार्टीको रुपमा बाहिरिँदा एमालेलाई विभाजन गर्न मलजल गरेको आरोप लागेका माओवादी अध्यक्ष प्रचण्ड गत महिना एमालेको चितवनमा भएको महाधिवेशनमा गएका थिएनन् । अहिले माओवादीको महाधिवेशनमा ओली गएनन् ।

एक अर्काको महाधिवेशन उद्घाटनमा दुई अध्यक्षहरु सहभागी नभए पनि दुई पार्टीका तर्फबाट एक अर्काको महाधिवेशनमा पठाइएका प्रतिनिधिमा भने गजबको संयोग परेको छ । दुवैले एक अर्काको महाधिवेशनमा पोखरेललाई पठाएका छन् । एमालेको महाधिवेशनमा माओवादीले स्थायी कमिटी सदस्य लिलामणि पोखरेललाई पठाएको थियो । माओवादी महाधिवेशनमा एमालेले पनि पोखरेलको बदलामा पोखरेल अर्थात महासचिव शंकर पोखरेललाई पठाएको छ ।

यसअघि एमालेको महाधिवेशन चितवनमा भएको थियो । एमालेले प्रचण्ड निवास खुमलटारमा प्रतिनिधि पठाएरै प्रचण्डलाई निम्तो दिएको थियो । प्रचण्डले भने काभ्रेमा आफ्नो पूर्व निर्धारित कार्यक्रम भएकोले त्यहाँ जानुपर्ने बताएर एमाले महाधिवेशनमा गएनन् । अहिले एमाले अध्यक्ष ओली शनिबारै झापा पुगेका छन् । ओलीलाई फोनमार्फत निम्तो दिइएको थियो तर उनले आफू गृहजिल्लामा भएकोले आउन नसक्ने जवाफ दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *