ज्येष्ठ नागरिकबाट समाज विकासका लागि ज्ञान र प्रेरणा लिउँः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा आर्जन गरेको ज्ञान, प्रेरणा, अनुभव र सीपलाई उच्च मूल्याङ्कन गर्दै समाजको उत्थान र मुलुकको विकासमा उनीहरुलाई उपयोग गर्न आग्रह गरेका छन् ।
प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई अभिनन्दन गर्न आज यहाँ आयोजित कार्यक्रममा उनले भने, “ज्येष्ठ नागरिक देशका ज्ञानका खानी र प्रेरणा हुनुहुन्छ, उहाँहरुबाट अहिलेको पुस्ताले अनुभव र सीप लिएर समाज विकासमा लगाउन सक्नुपर्छ ।”
ज्येष्ठ नागरिकको सम्मानमा कुनै पनि आघात पुग्न नदिन र सरकारले तोकेको सुविधाको प्रभावकारी कार्यान्वयन गर्न पनि उनले सबैको ध्यानाकर्षण गराए ।
उक्त दिवसका अवसरमा समाजकल्याण परिषद्, राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज शीतल निवासमा आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसहितका व्यक्तित्वलाई अभिनन्दन गरेका थिए ।
अभिनन्दित हुनेमा वरिष्ठ पत्रकार भैरव रिसाल, कृष्णा ताम्राकार, अर्थविद् हिमालय शमशेर राणा, शिक्षासेवी नानीमैया श्रेष्ठ, साहित्यकार भद्रकुमारी घले, कलाकार कालु कुमाले र वीरगञ्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्की हुन् ।
यस्तै विभिन्न क्षेत्रबाट ज्येष्ठ नागरिकका लागि सेवा दिने कलाकार मदनदास श्रेष्ठ, पूर्वसचिव कृष्णहरि बाँस्कोटा, पूर्वराष्ट्रसेवक मोहनबहादुर केसी, सामाजिक कार्यकर्ता प्रकाश गौतम, खेमराज उपाध्याय, बालकृष्ण थापामगर र जोगबहादुर महर्जनलाई सम्मानित गरियो ।
अभिनन्दित व्यक्तित्व जोशीले जीवनलाई सत्यम शिवम्, सुन्दरम्, बनाउने समय नै बुढ्यौली भएकाले ज्येष्ठ नागरिकले अरुसँग गुनासो नगरेर चिन्तनमनन्मा समय व्यतित गर्नुपर्ने बताए । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरमा एक १० शय्याको वृद्धाश्रम निर्माण भएको र त्यसलाई चाँडै सञ्चालनमा ल्याइने जानकारी दिए ।
Facebook Comment