दार्चुलाका निर्माणाधीन योजनाबारे आयोगको चासो

डिसी नेपाल
१७ पुष २०७८ १७:३३

काठमाडौं। राष्ट्रिय योजना आयोगले दार्चुलामा सञ्चालन भएका योजना तथा आयोजनाबारे अन्तक्र्रिया कार्यक्रम गरेको छ । जिल्लाका जनप्रतिनिधि, सरकारी कार्यालय प्रमुख, सुरक्षा निकाय लगायतसँग आयोगले अन्तक्र्रिया गरेको हो । नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित अन्तक्र्रियामा जिल्लामा निर्माणाधीन योजना, आयोजनाका बारेमा आयोगको टोलीलाई जानकारी गराइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको योजना आयोजनाको अवस्था र गर्नुपर्ने कामबारे जानकारी लिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर लगायतको टोली पठाएको हो । केन्द्र सरकारबाट आउने बजेटको कार्यान्वयन, योजना निर्माणबारे छलफल गरिएको कांग्रेसका नेता हरेक विष्टले बताए ।

छलफलमा दार्चुलाका आधादर्जन योजनाको हालको अवस्था र गर्नुपर्ने कामबारे कांग्रेस पार्टी सभापति ललितसिंह बोहरा, नगर प्रमुख हंशराज भट्ट, दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्की र जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्कीले जानकारी गराएका छन् । छलफलमा महाकाली लोकमार्ग दार्चुला तिङ्कर सडक, विटुले पारिबगड खण्डेश्वरी सडक, जोलजीवि शेरा सडक, महाकाली तडबन्ध, अपि नाम्पा संरक्षण क्षेत्र, गोकुलेश्वर विमानस्थललगायत काममा बजेट बढाउनुपर्ने माग राखिएको विष्टले बताए ।

यी निर्माणाधीन योजना तीव्ररुपमा बढाउनुपर्ने, सुदूरपश्चिमकै प्रधानमन्त्री भएको हुँदा बजेटमा सुदूरलाई हेर्ने दृष्टिकोण परिवर्तन गरी कार्यान्वयन गर्नुपर्नेमा सहभागीले जोड दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *