मनोनित केन्द्रीय सदस्य अस्वीकार गर्न रामचन्द्र पौडेललाई गुरु घिमिरेको आग्रह

काठमाडौं। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले रामचन्द्र पौडेललाई मनोनित केन्द्रीय सदस्य अस्वीकार गर्न आग्रह गरेका छन्।
महाधिवेशनको प्रक्रियाबाट अलग रहेका व्यक्ति, राजनीतिक इमान र नैतिकताको प्रश्न उठाउने व्यक्तिले नै आफू सामेल नभएको महाधिवेशनबाट निर्वाचित भएको सभापतिले मनोनयन गरेको केन्द्रीय सदस्यको पद अस्वीकार गर्नुपर्ने घिमिरेको तर्क रहेको छ।
‘नेपाली कांग्रेसको बिधान बमोजिम सभापति शेरबहादुर देउवाले केही नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नु भएको छ। मनोनयनमा पर्नहुने सबै नेताहरुलाई धेरै धेरै बधाई छ। तर यस मनोनयनले सभापतिज्यूको साझा सभापति बन्ने घोषणालाई भने खण्डन गरेको छ।’
सामाजिक संजालमा लेख्दै उनले भनेका छन्, ‘यसैगरी चौधौं महाधिवेशनको प्रक्रियाबाट अलग्गिनु भएका आदरणीय नेता रामचन्द्र पौडेलले यो मनोनयनलाई कसरी स्वीकार्नु होला भन्ने गम्भीर प्रश्न उठेको छ।महाधिवेशनको प्रकृयाबाट अलग बसेको व्यक्ति मनोनित हुन कसरी मिल्छ?
फेरि राजनीतिक इमान र नैतिकताको प्रश्न उठाउने व्यक्तिले सामेल नैं नभएको महाधिवेशनबाट चुनिएको सभापतिको मनोनयनलाई स्वीकार्न कसरी मिल्छ? हामी सबै उहाँबाट मनोनयनको अस्वीकृतिको घोषणाको प्रतिक्षामा छौं।’
शनिवार सभापति देउवाले कांग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (१०) बमोजिम रामचन्द्र पौडेल,प्रकाशमान सिंह, बिमलेन्द्र निधि,बिजयकुमार गच्छदार,कृष्णप्रसाद सिटौला,डा.प्रकाशशरण महत,डा.नारायण खड्का,उमा रेग्मी,सुजाता कोइराला,मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।
पौडेल, सिटौला, खड्का र मिन विक बाहेक सबै १४औँ महाधिवेशनमा उम्मेदवारी रहेर पराजित भएका थिए।
Facebook Comment