कर्णाली प्रदेशका लागि एमालेले गर्याे राष्ट्रियसभाकाे उम्मेदवार छनाेट

सुर्खेत। नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रिय सभाको चुनावका लागि तीन जना उम्मेदवार चयन गरेको छ। राष्ट्रियसभा चुनावका लागि जुम्लाकी गंगा महत, सुर्खेतका चुडामणि शर्मा र दैलेखका पदम माझी उम्मेदवार चयन गरेको हो।
राष्ट्रियसभाका लागि नाै जनाको नाम केन्द्रमा सिफारिस गरेका मध्येबाट दुई जना र अल्पसंख्यकबाट माझीलाई उम्मेदवार चयन गरिएको एमालेका कर्णाली प्रदेश इन्चाज यामलाल कँडेलले बताए।
राष्ट्रियसभाका सदस्य रहेको कालिकोटका जीवन बुढा (माओवादी केन्द्र) रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी (एकीकृत समाजवादी) र हुम्लाका कविता वोगटी (एमाले) फागुन १८ पदावधि सकिँदै छ। अन्य राजनीतिक दलहरुले अहिले उम्मेदवारको टुङ्गो लगाउनका सकेका छैनन्।
कर्णालीमा कस्तो छ मतभार
राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा मतभारका हिसावले सबैभन्दा ठूलो दल माओवादी केन्द्रमा रहेको छ। एमाले दाेस्राे , नेपाली कांग्रेस तेस्राे दल, नेकपा (एकीकृत समाजवादी) चौथो र रापप्रा नेपाल पाँचौँ दलका रुपमा रहेको छन्।
माओवादी केन्द्रका स्थानीय तहमा ५२ पदाधिकारी छन्। उनीहरूको मतभार ९३६ र प्रदेश सांसद १२ जनाको ५७६ मतभार गरेर कुल १५१२ मतभार छ। एमालेकासँग प्रदेश सांसद १३ जना छन्। उनीहरुको मतभार ६२४ र ४५ जना स्थानीय तहका जनप्रतिनिधिको मतभार ८१० रहेको छ। एमालेसँग कुल मतभार १४३४ रहेको छ।
नेपाली कांग्रेससँग स्थानीय तहका जनप्रतिनिधिको मतभार ७२० र ६ जना प्रदेश सांसदको २८८ मतभार छ। कांग्रेससँग कुल मतभार १००८ मत छ।
कर्णालीमा एकीकृत समाजवादीका तीन जना प्रदेश सांसद छन् भने स्थानीय तहका १३ जना जनप्रतिनिधि छन्। प्रदेश सांसदको मतभार एक जना बराबर ४८ हुन्छ। स्थानीय तहका जनप्रतिनिधिको एक जना बराबर १८ हुन्छ। तीन जना प्रदेश सांसदको मतभार १४४ र १३ जना स्थानीय तहका जनप्रतिनिधिको मतभार २३४ जोड्दा ३७८ रहेको छ।
Facebook Comment