सभाहल सञ्चालनको मोडालिटी बनाउन मन्त्री झाँक्रीको आग्रह

डिसी नेपाल
२२ पुष २०७८ १९:२३

काठमाडौं। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ‘सुर्खेत सभाहल’ सञ्चालन तथा व्यवस्थापनका लागि तत्काल मोडालिटी बनाउन आग्रह गरेका छन्।

सहरी विकास मन्त्रालयको सरकारी भवन निर्माण कार्यक्रमअन्तर्गत सुर्खेत सभाहल (पहिलो चरण) को आज वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गर्दै उनले सञ्चालनको मोडालिटी बनाई हललाई आम्दानीको स्रोतका रुपमा विकास गर्न आग्रह गरे ।

मन्त्री झाँक्रीले नेपाल सरकार र दातृ निकायले निर्माण गरेका ठूला संरचनाको सञ्चालन र मर्मतसम्भारको मोडालिटी नहुँदा खण्डहर हुने समस्या रहेको बताए । “नगरपालिकाले तत्काल हल सञ्चालनको मोडालिटी बनाउनुपर्छ, यो विजनेस सिर्जना गर्न बनाइएको हल हो”, उनले भने, “यसबाट प्राप्त हुने आम्दानीले मर्मतसम्भार, कर्मचारीलाई पारिश्रमिक दिन सकियोस् अब यो लावारिसे हुनुहुँदैन ।” सहरी विकास विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतले कार्यान्वयनमा ल्याएको सभाहल निर्माण योजना आर्थिक वर्ष २०७३/७४ देखि सुरु भएको थियो । समानान्तर/चक्रेश्वरी शिवशक्ति जेभीले रु २३ करोड लागतमा पहिलो चरणमा सभाहलको निर्माण कार्य पूरा गरेको हो ।

सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, सहरी विकास विभागका महानिर्देशक पदमकुमार मैनालीको उपस्थितिमा मन्त्री झाँक्रीले सभाहल व्यवस्थापनको जिम्मा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीलाई हस्तान्तरण गरे। कार्यक्रममा नगर प्रमुख सुवेदीले सभाहलको दोस्रो चरणसँग सम्बन्धित निर्माण कार्यका लागि यथाशीघ्र ठेक्का प्रक्रिया थाल्न अनुरोध गरे।

दोस्रो चरणअन्तर्गत फर्निचर व्यवस्थापन, बगैँचा, चमेनागृह निर्माणलगायत काम छन् । यसका लागि रु छ करोड लागतको अनुमान गरिएको छ । हाल बजेट अभाव भएका कारण दोस्रो चरणको काम सुरु हुन सकेको छैन । ‘सुर्खेत सभाहल’कर्णाली प्रदेशकै गरिमा भएको भन्दै नगर प्रमुख सुवेदीले यसको सञ्चालन तथा व्यवस्थापनका लागि तत्काल मोडालिटी बनाउने प्रतिबद्धता जनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *