सहकारी आफ्ना सदस्यप्रति उत्तरदायी बन्नुपर्छः मन्त्री श्रेष्ठ

डिसी नेपाल
३० पुष २०७८ १६:१९

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारीहरु आफ्ना सदस्यप्रति उत्तरदायी बन्नुपर्ने बताएका छन्।

यहाँ आज आयोजना गरिएको राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा, एकाइ प्रतिनिधिको सभामा मन्त्री श्रेष्ठले समुदायप्रति सदैव जिम्मेवार बनेर नागरिकको भरोसा बढाउनु सहकारीको प्रमुख दायित्व भएको उल्लेख गरे। सहकारीको सिद्धान्त, उद्देश्य र मर्मअनुसार नचल्दा वित्तीय सुशासन कायम हुन नसकेको र सहकारीप्रति बचतकर्ताको विश्वासमा कमी आएको उनको धारणा थियो ।

सहकारीको क्षेत्रमा देखिएका चुनौती र जोखिमलाई न्यूनीकरण गर्दै त्यसप्रति नागरिकको विश्वास र भरोसा बढाएर लगानी गर्न आकर्षित गर्नु सबैको दायित्व भएको मन्त्री श्रेष्ठले बताए। संविधानले सहकारीलाई आर्थिक विकासको मेरुदण्डको रुपमा लिएको र आर्थिक विकास तथा समृद्धिका लागि यसको भूमिका महत्वपूर्ण हुने हुँदा सहकारीलाई सदस्य केन्द्रित भई व्यावसायिक बनाउनुपर्नेमा उनले जोड दिए ।

सहकारीको सिद्धान्त मूल्यमान्यता र प्रचलित ऐन कानुनको पूर्ण परिपालना गर्दै संविधानमा समृद्धिको आधारस्तम्भ मानिएको सहकारी अभियानलाई थप प्रभावकारिताका साथ अघि बढाउन राष्ट्रिय सहकारी बैंकले भूमिका निर्वाह गर्न आवश्यक रहेको मन्त्री श्रेष्ठले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *