ओमिक्रोन तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी

काठमाडौं । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोनसहितको महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ ।
सरकारले नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट पनि स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मन्त्रिपरिषद्को पुस ३० गतेको बैठकका निर्णय सार्वजनिक गर्दै उनले सरकारले तिलौराकोट कपिलवस्तु क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने निर्णय भएको बताए । सरकारले नेपाली जनताका तर्फबाट अफगान नागरिकलाई मानवीय सहायता उपलब्ध गराउने निर्णय गरेको जानकारी दिइयो ।
बैठकले मेवा–चाँगे र केराबारी–न्यू मस्र्याङ्दी १३२ केभी प्रसारण आयोजनाको क्षतिपूर्ति निर्धारण समिति गठन गर्ने तथा बुढीगङ्गा जलविद्युत् आयोजना, खोर्लेबेँसी (गोरखा) ३३ केभी प्रसारण लाइन तथा सबस्टेशन र पाल्पा २२० केभी सबस्टेशन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने पनि निर्णय गरेको छ ।
सरकारले नेपाल विश्वविद्यलायसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्नुका साथै टोखा नगरपालिका र चीनको स्वायत्त क्षेत्र तिब्बतस्थित नक्छु सहरबीच भगिनी सम्बन्ध कायम गर्न पनि स्वीकृति दिने निर्णय गरेको छ ।स्थानीय तहका विभिन्न परियोजनानका लागि जग्गा प्राप्ति गर्न विभिन्न ११ स्थानीय तहलाई स्वीकृति दिने निर्णय पनि भएको छ ।
Facebook Comment