आत्महत्या न्यूनीकरणका लागि प्रहरीले बनायो लघुचलचित्र
खोटाङ। आत्महत्या न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले जनचेतनामुलक लघुचलचित्र ‘आत्महत्या नगरौं, बाँचौं र बचाऔं’ तयार पारेको छ।
जिल्लामा बढ्दो आत्महत्याका घट्नालाई निरुत्साहनका लागि समाजमा सचेतना फैलाउने लक्ष्यका साथ जिल्ला प्रहरी कार्यालयले ४३ मिनेटको लघु चलचित्र तयार पारेको हो। पछिल्लो समय जिल्लामा आत्महत्याका घट्ना अधिक घट्ना थालेकाले आत्महत्या न्यूनीकरणका लागि जनचेतनामुलक लघु चलचित्र तयार पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए।
जिल्ला प्रहरी कार्यालयले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तहसँगको सहकार्यमा सन्देशमुलक लघु चलचित्र बनाएको हो । लघु चलचित्र सोमबार जिल्ला समन्वय समितिको समिक्षालय हलमा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले सार्वजनिक गरेका छन् ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गाउँ टोलदेखि क्याम्पस, विद्यालय लगायतमा सञ्चालन गरिने सचेतनामुलक कार्यक्रममा देखाउनेगरी लघु चलचित्र तयार पारिएको डिएसी लम्सालले बताए ।
भिडियो हेर्नमा अधिकांश स्थानीय झुम्मिने भएकाले प्रहरीले लघु चलचित्रको माध्यमबाट समुदायमा सचेतना फैलाउने योजना बनाएको हो । जिल्लामा आत्महत्याका सत्य घट्नामा आधारित रहेर लघु चलचित्र तयार पारिएको प्रहरीले जनाएको छ ।
लघु चलचित्रमा गरीवी, अशिक्षा, बैदेशिक रोजगार, प्रेममा बिछोड, असफलता, मद्यपान÷धुम्रपान लगायतका कारण कतिपय मानिस आत्महत्याको बाटो रोज्न बाध्य हुने चित्रण गरिएको छ ।
जेपी आचार्य ‘फिरन्ते’ले लेखेको कथालाई डिएसपी लम्सालको परिकल्पना र सञ्जिव राईको निर्देशनमा लघु चलचित्रमा उतारिएको हो । खोटाङका विभिन्न स्थानमा छायांकन गरिएको लघु चलचित्रमा सरिता भुजेल लगायत स्थानीय कलाकारकै अभिनय रहेको छ ।
लघु चलचित्रका बारेमा जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल लगायतले बोलेका थिए ।
प्रहरीका अनुसार जिल्लामा आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७७/०७८ सम्ममा १९१ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्ष मात्र १८ पुरुष र १३ महिलाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
Facebook Comment