के मेस्सीले स्विकार गर्लान् रोनाल्डोको चुनौती ?

डिसी नेपाल
२४ मंसिर २०७५ १४:२३

यसै सिजनको सुरुमा रियल मड्रिड छाडेर इटालीको क्लब युभेन्टस पुगेका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीलाई नयाँ चुनौती दिएका छन् । हालसालै एक अन्तर्वार्तामा बोल्दै रोनाल्डोले आफ्नो पूर्वप्रतिस्पर्धी मेस्सीलाई स्पेन छाडेर इटाली आउन चुनौती दिएका हुन् ।

इटालीको चर्चित पत्रिका ‘ला गजेटा डेलो स्पोर्ट’सँगको विशेष कुराकानीमा बोल्दै रोनाल्डोलाई स्पेनमा छँदाका समयबारे सोधिएको थियो । त्यसक्रममा उनले मेस्सीसँगको प्रतिस्पर्धा आफूले पनि सम्झिने र सम्भवतः उनले पनि सम्झिने बताए ।

सोक्रममा रोनाल्डोले स्पेन छाडेर आफूले नयाँ चुनौतीको बाटो रोजेको भन्दै मेस्सी पनि त्यसका लागि तयार हुनुपर्ने बताए । ‘मैले मेस्सीलाई केही मिस पक्कै गरेको छु,’ उनले भने, ‘सायद मेस्सीले पनि मलाई मिस गर्छन् होला ।’

रोनाल्डोले आफूले विभिन्न लिग खेलेको र सफल पनि भएको बताउँदै मेस्सी पनि त्यसका लागि तयार हुनुपर्ने बताए । ‘मैले पोर्चुगलमा आफ्नो करिअर सुरु गर्दै इंग्ल्यान्ड र स्पेन हुँदै अहिले इटालीमा आएको छु,’ रोनाल्डोले भने, ‘उनले आफ्नो पूरा करिअर स्पेनमै खेलिरहेका छन् । मेरो विचारमा अब उनले पनि स्पेनभन्दा बाहिरबाट खेल्नुपर्छ ।’

रोनाल्डोले यदि मेस्सी स्पेनमै खुसी रहेको अवस्थमा भने आफूले सम्मान गर्ने बताए । ‘यदि उनी बार्सिलोनामै खुसी छन् भने उनीप्रति मेरो सम्मान छ,’ रोनाल्डोले भने ।

रोनाल्डोले इटालीमा आफू नयाँ चुनौतीका लागि आएको पनि बताए । ‘मेरा लागि जिन्दगी भनेको चुनौती हो । म यहाँ पनि नयाँ चुनौतीसँग जुध्नकै लागि आएको हुँ,’ रोनाल्डोले भने, ‘म चाहन्छु, मेस्सी पनि यहाँ आएर खेलून् ।’

स्पेनमा छँदा रोनाल्डो र मेस्सीलाई कट्टर प्रतिस्पर्धी मानिन्थ्यो । दुई सुपरस्टारको भिडन्त मैदानदेखि लिएर व्यक्तिगत रेकर्ड र उपाधिसम्ममा हुने गथ्र्यो । तर, यसै सिजनको सुरुमा रोनाल्डो रियल छाडेर १ सय १६ मिलियन युरोमा इटाली पुगेपछि उनीहरूबीचको प्रतिस्पर्धा एकहिसाबले सकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *