साच्चै कोरोना, कहिले जान्छौ तिमी-२

डिसी नेपाल
८ माघ २०७८ १०:३९

उफ् फेरि आयो यो बदमास कोरोना…….., कस्तो रहेछ के यो त । अब त गयो होला कि भनेको तर फर्की फर्की त फेरि आयो । २०१९ मा आ’को अब त २०२२ भै सक्यो, तैपनि जाने सुरसार छैन, म ५ बर्षको हुँदा आ’को थियो, ८ बर्ष लाग्न लागि सकेँ तै पनि हराउदैन त ?
यो कोरोना आएपछि मैले मेरो २ वटा वर्थडे मनाउन पाइन, अब फेरि मेरो बर्थडे आउदैछ, यसपालि पनि यो छुच्चो कोरोनाले मनाउन दिने भएन, यसपालि पनि मैले धेरै गिफ्ट नपाउने भएँ ।

यसपल्ट पनि धेरैजनालाई बिरामी पार्छ होला । पहिले त सबैले कोरोना कोरोना भन्थे अचेल त कोभिड भन्ने रे, यसको नाम पनि चेन्ज भै रहने रहेछ । अहिलेको नयां कोरोना को नाम पनि ओमिक्रोन हो रे । यो भन्दा पहिला डेल्टा थियो, कस्ता कस्ता नाम होलान् सुन्दा पनि अचम्म लाग्ने ? कोरोनाले पनि मैले हेर्ने शिवा, बोबो व्वाइ, निन्जा हथोरीले जस्तै नयाँ नयाँ पावर लिएर आउने रहेछ । अनि सबैलाई बिरामी पार्ने रहेछ ।

किन होला है, हामी बिरामी परिरहने ? अस्ति भर्खरै स्कुल खुलेपछि पनि त हामी बिरामी भएका थियौं । कसैलाई ज्वरो आउने, कसैको हात, मुख,खुट्टामा फोका आउने भएको थियो । अहिले फेरि यो नया कोरोना आको छ यसले हामी जस्तो सानो सानो मान्छेलाई त झन धेरै बिरामी बनाइ दिन्छ रे । हामीले भ्याक्सिन लाको छैन नि त त्यसैले ।

यो कोरोनाले त भ्याक्सिन लगाएको मानिसलाई पनि बिरामी पार्दो रहेछ । मेरो मामु, बाबा अनि अमेरिकामा मेरो ठुलीमामु र दिदीलाई पनि कोरोना भएको थियो । भ्याक्सिन भनेको त कोरोनासँग फाइट खेल्न शरिरलाई पावरफुल बनाउन शरीर भित्र औषधी पठाउने हो तर खै त भ्याक्सिनले जित्न सकेको ? नयां कोरोना त भ्याक्सिन भन्दा पनि पावरफुल भएर आएछ जस्तो छ। अब फेरि नयां भ्याक्सिन बनाउन पर्छ जस्तो छ ।

के भाको होला आजकाल खै, सबैतिर कोरोनै कोरोना छ त, जो पनि बिरामी भा’को मात्रै सुन्छु । मेरा स्कुलका धेरै जना म्यामहरु पनि बिरामी हुनुहुन्छ रे । बिचरा म्यामले अब कसरी अनलाइन क्लास लिने होला बिरामी हुँदा ।

आ… होस् झन मज्जा, अनलाइन क्लास पनि लिनु पर्दैन, होमओर्क पनि गर्नु पर्दैन, नाइ नाइ हुन्न, म मेरो म्यामलाई कति धेरै माया गर्छु । मलाई पनि त म्यामले कति धेरै माया गर्नु हुन्छ नि ? आफूलाई माया गर्ने मान्छेलाई आफूले नि माया गर्नु पर्छ नि है । बिचरा म्यामलाइ कति गाह्रो भाको होला कोरोना लागेर ।

मेरो मामुलाई कोरोना हुँदा मलाई कति नरमाइलो लागेको थियो । बाबाले माम पकाउदा मिठो नै हुदैन । बाबाले पकाएको माम त जाउलो जस्तो हुन्छ । तरकारीमा कहिले नुन धेरै हुन्छ, कहिले लाग्दैन, कहिले काहीँ त तरकारी गुलियो हुन्छ । मैले माम पनि आफै खानु पर्छ। कस्तो अल्छी लाग्छ, मलाई आफै माम खान ।

सुत्ने बेलामा झन धेरै मामुको याद आउथ्यो मलाई, कहिलेकाही त म रुदै सुत्थे । अनि मैले भगवानलाई सधै प्रार्थना गर्थे, मेरो मामुलाइ छिट्टै निको होस भनेर, तर पनि एक हप्ता पुरै लाग्यो मामुलाई ठिक हुन । मेरो म्यामको घरमा नि सानो बैनी छ, उसलाई पनि मलाई जस्तै भा’को होला । त्यसैले मेरो म्यामलाई नि छिट्टै सन्चो होस भनेर भगवानलाई प्रार्थना गरेको छु, त्यसैले अब म्यामलाई बिसोक हुन्छ ।

अब हाम्रो स्कुलको अनलाइन क्लास फेरि सुरु भयो, मलाई त झ्याउ लाग्छ अनलाइन क्लास लिन । फिजिकल क्लास हुदा कति रमाइलो हुन्थ्यो, स्लाइड खेल्न पाइन्थ्यो, पिङ खेल्न पाइन्थ्यो । म्यामहरुले अरु आउटडोर गेम पनि खेलाउनु हुन्थ्यो । हुन त अनलाइन क्लासमा पनि मज्जा नै हुन्छ, घरमै बसेर पढ्न पाइन्छ तर पनि फिजिकलमा जस्तो धेरै मज्जा चाहिँ हुदैन । साथीहरू सबै देखिन्छन् स्क्रिनमा तर सँगै खेल्न मिल्दैन ।
फिजिकल स्कुलमा त टेष्टमा राम्रो गर्यो भने, गेममा राम्रो गर्यो भने म्यामले प्राइज तुरुन्तै दिनु हुन्थ्यो । दिन त अनलाइन क्लासमा पनि म्यामले दिन्छु भन्नू हुन्छ तर भोलिपर्सि फिजिकल स्कुल भएपछि दिने रे । त्यति बेला सम्म त म्यामले बिर्सने पो हो कि ? हुन त डायरीमा लेखेर त राख्छु भन्नुभाको थियो म्यामले, डायरी नै हराउने पो हो कि ? तर केही छैन, म्यामले बिर्से नि म सम्झाउछु नि ।

ह्या…….. मलाई त कस्तो बोर लागिरहेको छ, कतिदिन भैसक्यो म मेरो फ्लाटबाट बाहिर ननिस्केको, बाहिर जाउ“ भने पनि अरु केटाकेटीहरुसँग खेल्नुपर्छ उनीहरुले कोरोना सारे भने के गर्ने ? उनीहरुले त मास्क पनि लगाउदैन् । बरु कोठामै बसेर कार्टुन हेर्छु । कति हेर्नू कार्टुन पनि? सबै हेरेर सकिसके नयाँ बाकी नै छैन । गेम खेल्दा पनि मज्जै आउदैन आजकाल त । ड्र«इङ, पेन्टिङ पनि कति गर्ने के ? अब त मनै लाग्दैन केही गर्न पनि ।

खेल्ने साथी पनि कोही छैन, दादाहरुलाई कति रमाइलो लागेको होला ल्यापटपमा साथीसँग च्याट गर्न । मेरो साथीहरू त एक छिन बोलेपछि बाइ भनिहाल्छन् । हामी सानो भएर होला है गफ छोटो भा’को । अब फेरि स्कुल कहिले लाग्छ होला है ? छिट्टै लागे नि हुने नि ।

मेरा सानो भाइलाई त माइजुले पोहोरसाल मात्र स्कुलमा भर्ना गर्नु भएको थियो, तर स्कुल जानै पाएन । ऊ स्कुल जान थालेदेखि कोरोना आकोआइ भयो । खालि अनलाइनमा मात्रै पढ्न पर्यो उसले त, विचरा ! शुरुमा अलिकति स्कुल गा’को थियो, अनि लकडाउन भयो, अनि फेरि खुल्यो स्कुल गयो, अनि फेरि लकडाउन भयो । तिहारपछि स्कुल खोलेपछि भने स्कुल गएको थियो फेरि स्कुल बन्द शुरु भैहाल्यो । तीनपटक भैसक्यो मेरो सानो भाइले नर्सरी पढेको । ऊ त सधै नर्सरीमा नै पढ्छ जस्तो छ । राम्रोसँग स्कुलमा गएर पढ्न, सिक्न, खेल्न पनि पाएन । म्यामहरुलाई पनि राम्रोसँग चिनेको छैन । साथीको पनि माया लाग्दैन रे उसलाई त ।

कस्तो होला है यो कोरोना ? किन आउनु परेको होला के यसलाई अहिले नै ? झन जाडो बिदामा बाबाले कहाकहा घुमाउन लान्छु भन्दै हुनुहुन्थ्यो, जानै पाएन, घरमै बस्नु पर्यो । बाहिर गयो भने त सबै बिरामी परिन्छ रे । मेरो एकजना साथी गा’को थियो घुम्न ऊ पनि बिरामी परेको छ रे, उसलाई पनि कोरोना पो भयो कि ? कस्तो धेरै टाउको दुख्छ रे ।

मेरो मामुलाई कोरोना हुँदा कति धेरै कस्तो गाह्रो भाको थियो नि । कति धेरै ज्वरो आको थियो बान्ता भएको थियो, खोकी पनि निकै लागेको थियो, रातभरि खोकिरहनुहुन्थ्यो । कति धेरै औषधी खादा पनि सन्चो भएको थिएन । धेरै दिन सुतिरहनु भएको थियो । अझै बाबाको साथी अकंललाई त धेरै गाह्रो भएर हस्पिटल नै लानु परेको थियो । भ्याक्सिन लगाएको मान्छेलाई त अझै गाह्रो नभएको रे ! हामी भ्याक्सिन नलाएको मान्छेलाई त झनै गाह्रो बनाउछ रे !

अब चैतमा त हाम्रो लागि पनि भ्याक्सिन आउँछ रे । भ्याक्सिन लगाएपछि त कोरोना लागे पनि गाह्रो हुन्न होला । त्यसपछि त स्कुल पनि सधै खुल्छ होला । यसपालि चाँहि हामी कोरोनाबाट कसरी बच्ने होला ? यसपल्ट पनि कति दिन बन्द हुने हो हाम्रो स्कुल ? पोहर सालजस्तै यसपालि पनि नयाँ क्लासको पढाइ अनलाइनबाटै शुरु हुने पो हो कि ? अझै मेरो कति वटा बर्थ डे कोरोनाले बिगारिदिने होला ?

मास्क लगउ“दा लगाउ“दा कान नै दुखिसक्यो, कहिले आउला पहिले जस्तै मास्क नलगाइकन हिड्न पाउने दिन ? अस्ति स्कुल खुल्दा पोहरको ड्रेस सानो भएर बाबाले नयां ड्रेस किन्दिनु भएको थियो, अब त्यो ड्रेस र जुत्ता पनि नलगाइकनै सानो हुने पो हो कि ? साइन्टिसले त घाम लागिरहदा पनि कहिले पानी पर्छ थाहा पाउन सक्छन्, टाढा टाढाको तारा, प्लानेट पत्ता लगाउन सक्छन तर यो कोरोनालाई भगाउन किन नसकेको होला ? कोरोना कहिले सकिन्छ किन भन्न नसकेको होला ? साच्चै यो कोरोना कहिले जान्छ होला है सधैंको लागि ?
(झण्डै आठ बर्ष लाग्दै गरेको बालकको बालमनोभावनामा आधारित मनोवाद)
माघ ७, २०७८

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *