भारतमा दिएको बयानका कारण जर्मन नौसेना प्रमुखले किन राजीनामा दिनुपर्‍यो ?

डिसी नेपाल
९ माघ २०७८ १०:५१

काठमाडौं। जर्मन नौसेना प्रमुखले भारतमा दिएको एक बयानका कारण शनिबार आफ्नो पदबाट राजीनामा दिनु परेको छ । जर्मनीको रक्षा मन्त्रालयले समाचार एजेन्सी एएफपीसँग यसको पुष्टि गरेको छ । जर्मन नौसेना प्रमुख के आखिम शुनबेखले शुक्रबार नयाँ दिल्लीमा युक्रेनको रुसमाथि आक्रमणको विचार बकवास भएको र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सम्मानका पात्र भएको बताएका थिए ।

एएफपीसँग जर्मनीको रक्षा मन्त्रालयका प्रवक्ताले भाइस एडमिरलले तत्काल लागू हुने गरी आफ्नो पद त्यागेको पुष्टि गरेका छन् । नयाँ दिल्लीमा एक बैठकका क्रममा शुनबेखले भनेका थिए ‘पुटिनले सम्मान चाहन्छन् र जस्तो उनी चाहन्छन् त्यस्तो सम्मान उनलाई दिन सकिन्छ र उनी यसका हकदार पनि छन् ।’ शुनबेखले राजीनामा दिएपछि शनिबार भनेका छन् ‘अगाडि कुनै नोक्सानी रोक्नको लागि तत्काल लागू हुने गरी आफ्नो भूमिकाबाट राजीनामा दिउको छु ।’

नयाँ दिल्लीमा जर्मन नौसेनाका प्रमुखले क्रिमिया प्रायद्विपमा कब्जाको विषयमा आफ्नो धारणा राखेका थिए । क्रिमियामाथि रुसले २०१४ मा कब्जा गरेको थियो । उनले भनेका थिए ‘त्यो (क्रिमिया) गइसकेको छ र अब कहिल्यै फिर्ता आउनेवाला छैन ।’ यसपछि युक्रेनका विदेश मन्त्रीले शुनबेखको बयान पूर्ण रुपमा अस्वीकार्य भएको बताएका थिए ।

रुसको सम्भावित आक्रमणको आशंकामा कैयौं देशहरुले युक्रेनलाई हतियार आपूर्ति गरेका छन् । युक्रेनलाई हतियार आपूर्ति गर्ने देशमा अमेरिका र बेलायत प्रमुख हुन् । जर्मनीले भने युक्रेनको हतियार पठाउने आग्रहलाई अस्वीकार गरेको छ । जर्मनीले युक्रेनलाई एक फिल्ड अस्पताल दिने प्रस्ताव गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *