राष्ट्रिय सभा निर्वाचन आजः एमाले विरूद्ध पाँच दलीय गठबन्धन

काठमाडौं। २० फागुनबाट राष्ट्रिय सभातर्फ रिक्त हुने १९ पदमा पदपूर्तिका लागि सातै प्रदेशमा आज बुधबार मतदान हुँदै छ।
प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बाग्मतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी रिक्त हुने जम्मा १९ पदका लागि मतदान हुन लागेको हाे। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि सबै तयारी पूरा भएको भन्दै बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म मतदान गर्नेगरी तयारी गरिएको जनाएको छ।
राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल गठबन्धन नै बनाएर उत्रिएका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन कायम राख्दै एमालेको तर्फबाट रिक्त हुने सिटमा समेत भागबन्डा गरेका हुन्। यस्तै, प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले भने सातै प्रदेशमा आफ्ना उम्मेदवार एक्लै अघि सारेको छ।
राष्ट्रिय सभामा रिक्त हुने १९ पदमध्ये आठ पद एमालेका तर्फबाट रिक्त हुँदै छ । यस्तै, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि पनि सोही मितिमा सकिँदै छ। निर्वाचन आयोगले सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य विभिन्न समूह गरी १९ सिटका लागि निर्वाचन गराउन लागेको हो ।
आयोगका अनुसार निर्वाचनमा जसमध्ये नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र)बाट पाँच जना, नेकपा (एकीकृत समाजवादी)बाट पाँच जना, जनता समाजवादी पार्टी, नेपालबाट दुई जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना, नेपाल मजदुर किसान पार्टीबाट दुई जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट एक जना र राष्ट्रिय जनमोर्चाबाट एक जनाको उम्मेदवार बनेका छन्।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान गर्न आउने जनप्रतिनिधिले नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा निर्वाचित भएको प्रमाणपत्र लिएर आउनु पर्छ। राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्यसँगै स्थानीय तहका प्रमुख/उपप्रमुखले भाग लिन पाउँछन्।
राष्ट्रिय सभामा तीन सदस्यका लागि भइरहेको निर्वाचनमा सत्तारुढ गठबन्धन, एमाले र राप्रपाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन्। राप्रपा प्रदेश १ बाहेकमा मतदान नगर्ने भएको छ।
Facebook Comment