यातायात कार्यालयद्वारा २९ करोड राजस्व सङ्कलन
जनकपुरधाम । चालु आर्थिक २०७८/७९ को ६ महिनामा रु २८ करोड ९३ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले साउनदेखि पुस महिनासम्ममा सो राजस्व सङ्कलन गरेको हो।
पछिल्लो ६ महिनामा नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट सो राजस्व सङ्कलन गरिएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिए। चालु आवको ६ महिनामा सवारी करबाट रु २० करोड १३ लाख ६८ हजार, सवारी चालक अनुमतिपत्र वितरणबाट रु आठ करोड ५५ लाख ६४ हजार तथा आयकर दस्तुरबाट रु २३ लाख ६८ हजार राजस्व सङ्कलन भएको छ ।
यस्तै, चालु आवको सो अवधिमा मोटरसाइकल सात हजार तीन, ट्र्याक्टर ३०६ लगायत आठ हजार नयाँ सवारी साधन दर्ता भएको कार्यालय प्रमुख साहले जानकारी दिए । सो कार्यालयले आव २०७७/७८ को ६ महिनामा रु २० करोड २८ लाख २१ हजार राजस्व सङ्कलन गरेको थियो ।
Facebook Comment