राष्ट्रिय सभा निर्वाचन : मतदान जारी रहेका बेला जनकपुरधाममा प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप

जनकपुरधाम। राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि देशभर मतदान भइरहेको छ। बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । तर, जनकपुरधाममा भने मतदान भइरहेका बेला सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
यो समाचार तयार पार्दासम्म ३७२ मतदाता रहेका मधेश प्रदेशको जनकपुरधाममा भएको मतदानमा १०८ जनाले मतदान गरिसकेका छन्। महेन्द्रनारायण निधि भवनमा मतदान भइरहेको छ।
तर, मतदान स्थलमा जनमत पार्टीका कार्यकर्ताहरु प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको छ।
जनकपुरधामका विभिन्न ठाउँमा जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन्। जनमत पार्टीका कार्यकर्ताहरुले बिहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन्।
उनीहरुले मधेश विगत एक महिनादेखि आन्दोलित रहे पनि माग पूरा गर्न चासो नदेखाएको र मधेसमा आएर निर्वाचन गरिरहेकाले विरोध गरेको जनाएको छ।
Facebook Comment