अमेरिकामा हिमानीले थापिन् झोली, राजशी ठाँट भने छोडिनन्

डिसी नेपाल
१५ माघ २०७८ १०:४१

वासिंगटन डिसी। पूर्व युवराज्ञी हिमानी शाहले नेपालका गरीव र असहायका लागि भन्दै अमेरिकामा झोली थापेकी छन्। उनले अमेरिकाको डिसी मेट्रो एरिया(डिसी, भर्जिनिया र मेरिल्याण्ड) तथा न्यूयोर्कमा नेपाली समुदाय र केही अमेरिकी राजनीतिकर्मीहरु भेला गरेर आर्थिक सहयोगको झोली थापेकी हुन्।

हिमानी ट्रष्ट नेपालका नाममा उनले थापेको झोलीमा अमेरिकावासी नेपालीहरुले उनले चाहेकोजस्तो आर्थिक सहयोग पुर्‍याउन पक्कै सकेनन्। डिसी मेट्रो क्षेत्रमा उठाइएको रकम उनी र उनको टिमका लागि गरिएको खर्च बराबारमात्रै थियो।

भलै उनी बसेको होटलको रकम उनी स्वयंले तिरेकी थिइन् तर ट्रष्टका पदाधिकारी र सदस्यहरुले उनीसँगको दर्शनभेटका लागि तय गरेको रेष्टुराँको खाना र टष्टको उद्घाटनस्थल होटलको खाना खर्चको रकम भने हिमानी ट्रष्टका नाममा हिमानीले थापेको झोलीबाटै तिर्नु परेको छ।

नेपालको राजपरिवार नेपाल र भारतमा पनि व्यापारका संलग्न छ। राजा हुनुभन्दा पहिला पूर्वराजा ज्ञानेन्द्र व्यापारका संलग्न थिए र राजगद्दीबाट हटाइएपछि पनि उनको व्यापार यथावत नै छ। पूर्वराजा बीरेन्द्र र उनका सन्ततिका नाममा भएको भौतिक सम्पत्तिमात्र नेपाल ट्रष्ट खोलेर सरकार मातहत ल्याएको हो।

त्यसमा पनि राजनीतिक दल र केही व्यापारी घरानाको गिद्दे नजर परिसकेको छ र कतिपय अचल सम्पत्तिमा स्यालको रजाईं चलेको छ। स्वर्गीय राजा वीरेन्द्रको अचलसम्पत्तिको सबै हिस्सा चलाउन नपाए पनि पूर्वराजा ज्ञानेन्द्र र उनको परिवारसँग नेपाल र नेपालीको दृष्टिमा अथाह सम्पत्ति छ नै।

उनले राजनीतिक पार्टीलाई अलि अलि चन्दा दिने गरेको राप्रपाका पूर्वअध्यक्ष कमल थापाले आफू राप्रपाको अध्यक्षबाट पराजित भएको झोकमा खुलासा पनि गरिदिएका थिए।

नेपालमा अति धनाढ्यमा पर्ने पूर्वराजा ज्ञानेन्द्र र उनको परिवारसँग भएको अथाह सम्पत्ति हुँदा हुँदै उनकी बुहारी हिमानी शाहले नेपालका गरीव दुखी र असहायहरुका लागि अमेरिका आएर यसचोटि पहिलोपल्ट झोली फैलाइन्। यो सँगै अमेरिकास्थित नेपाली समुदायमा केही गम्भीर प्रश्नहरु पनि उठेका छन्।

जस्तो, पूर्वराजपरिवार राजनैतिक षड्यन्त्र र छक्कापन्जाका सहभागी नभई टष्टमार्फत समाजसेवामा लाग्नु निकै सकारात्मक कदम भएको भए पनि ट्रष्टको पारदर्शिताका बारेमा अमेरिकाको नेपाली समुदायमा प्रशस्तै आशंकाहरु देखिएका छन्। हिमानी टष्टमा हिमानी शाह र पूर्वराजपरिवार आफैंले कति रकम समाजसेवाका लागि छुट्याएको छ? यसबारे हिमानी ट्रष्टले हालसम्म कुनै सार्वजानिक गरेको छैन।

हिमानी शाहले विदेशमा दुखजिलो गर्ने र व्यापार व्यवसाय गर्ने नेपालीहरुबाट आफूले गर्ने समाजसेवाका लागि रकम आह्वान गर्नुभन्दा पहिले उनी र उनको शाही परिवारले त्यसमा कति रकम सिड मनीका रुपमा दिएको छ वा लगाएको छ भन्ने कुरा पारदर्शीरुपमा देखिनुपर्ने थियो। तर, त्यो कतै देखिएको छैन।

म र मेरो परिवारले यति रकम समाजसेवामा लगानी गरेका छौं तपाईंहरु होष्टेमा हैंसे गरिदिनुस है भनेको भए उनले गर्न खोजेको समाजसेवा सम्मानित हुन सक्थ्यो तर अथाह सम्पत्तिको मालिक हुँदा हुँदै आफूले गरेको समाजसेवाको लगानीबारे प्रष्ट सार्वजानिक नगरी अरुसँग हात फैलाउनुले हिमानी शाहका लागि सकारात्मक सन्देश हुन सकेन अमेरिकामा।

तथापि उनको यसपटकको अमेरिका भ्रमण निकै चर्चामा रह्यो। उनका लागि सुखद संयोग के रह्यो भने अमेरिकाको सत्तारुढ दल डेमोक्रेटिक पार्टीका केन्द्रीय सदस्य हरि शर्मा स्वयं नै हिमानी ट्रष्ट अमेरिकाका अध्यक्ष बनिदिए र उनै शर्माको राजनीतिक पहुँचलाई हिमानीले आफ्नो भ्रमणका क्रममा भरपुर प्रयोग गर्न खोजिन्।

अमेरिकी सरकारका उच्च पदस्थ जनप्रतिनिधिहरुसँगको भेटघाटको निकै प्रयत्न पनि भएको थियो तर सरकारमा उच्चअधिकारीहरुले औपचारिक भेट गर्न चासो नदेखाएका कारण राजनीतिक पहुँच हुँदाहुँदै पनि शर्माले त्यसको चाजोपाँजो मिलाउन सकेनन्। तर, उनी स्वयं सक्रिय रहेका कारण नेपाली समुदाय र नेपालमा पनि कतै अमेरिकाको सत्तारुढ दल डेमोक्रेटिक पार्टीले हिमानी शाह र उनको पछि रहेको नेपालको पूर्वराजतन्त्रलाई समर्थन त गरेको होइन? भन्ने आशंका भन्ने जन्मिएको छ।

शर्माले यो राजनीतिक अभियान हुँदै होइन एउटा विशुद्ध समाजसेवाको मात्र काम हो भनेर प्रष्टिकरण दिने गरेका भए पनि उनी अध्यक्ष रहेको संस्थाले आयोजना गरेको कार्यक्रममा हिमानीलाई नेपालकी श्री ५ युवराज्ञीकै रुपमा प्रस्तुत गरिएको थियो। अमेरिकाको सत्तारुढ दलका नेता शर्मा स्वयंले पनि भाषणका क्रममा अंग्रेजीमा बोले पनि हिमानीलाई सम्बोधन गर्दा “सरकार” भनेका थिए।

नेपालको शासनसत्ताबाट पूर्णरुपमा वाहिरिएको शाह परिवारलाई अमेरिकाको सत्तारुढ दलका नेता (नेपाली मूलकै भएपनि) ले ‘सरकार’ भनिदिंदा कतै नेपालको पूर्वराजपरिवारलाई अमेरिकी सत्तारुढ दलले फेरि शासनमा देख्न चाहेको त होइन भन्ने प्रश्न पनि कतिपयले उठाएका छन्।

यसबारेको जिज्ञाशामा स्वयं शर्मा भने हिमानी ट्रष्टसँग राजनीतिको कुनै साइनो नभएको बताउँछन्। कार्यक्रमको उद्घाटनपूर्व नै उनले डिसी नेपालसँग प्रतिक्रिया दिँदै विशुद्ध सामाजिक काम भएकाले आफूहरु यसमा संलग्न भएको बताएका थिए। तर, कार्यक्रमका सन्दर्भमा साच्चिनै नेपालमा सक्रिय राजतन्त्र नै छ कि भन्ने झल्को दिने कोसिस गरिएको थियो।

सत्तामा रहने भएकाले भनिने गरेको सरकार शब्द उनका लागि पटक पटक प्रयोग हुनु त्यो पनि अमेरिकामा डेमोक्रेटिक पार्टीका नेताको हैसियत बनाएका व्यक्तिले प्रयोग गर्नुले डेमोक्रेटिक पार्टीका नेपाली मूलका समर्थकहरुमाझ कतै हिमानीको नेतृत्वमा नेपालमा राजतन्त्र व्यूताउने भारतीय खेलमा अमेरिकाको पनि संलग्नता त छैन भन्ने आशंकाहरु पनि थपिदिएको छ। भारत पूर्वराजा ज्ञानेन्द्रभन्दा आफ्नै चेली हिमानीलाई राजसंस्थाको मुख्य बनाएर नेपालमा राजसंस्था व्युताउने प्रयत्नमा लागेको छ भन्नेहरुलाई कतै अमेरिकाको सत्तारुढ दलले पनि भारतको त्यही खेलमा साथ दिन खोजेको हो कि? भन्ने शंका थपिदिएको छ।

हिमानी ट्रष्ट अमेरिका स्वयंले हिमानीको स्वगतका लागि बनाएको कार्यक्रमको व्यानरमा क्राउन प्रिन्सेस हिमानी शाह भनिएको छ । यसको अर्थ राजनीतिक नै लाग्छ । नेपालमा अहिले त्यस्तो कुनै पद छैन तर कतिपय राजावादीहरु त्यो स्वीकार गर्न तयार छैनन् । उनीहरु आफू रहुन्जेल राजा रानीसहित राजपरिवारलाई श्री ५ नै भन्ने, महाराज महारानी नै भन्ने जिद्धि गर्छन् ।

यस्तै जिद्धि हिमानी ट्रष्ट अमेरिकाले पनि देखाएको व्यानरले पुष्टि गर्छ। र, ट्रष्टका नाममा अमेरिकाको नेपाली समुदायमा राजनीति गर्ने र माहोल बनाउने गतिविधिमा हिमानीको भ्रमण भएको त होइन ? भन्ने आशंका पनि बढेको छ। राजनीतिक होइन भन्ने दावी गर्दा गर्दै पनि हिमानीलाई नेपाली सक्रिय राजतन्त्रकी क्रियाशील प्रतिनिधिजस्तो हैसियत दिएर कार्यक्रम गरेको भए पनि डेमोक्रेटिक पार्टी, अमेरिकाका केन्द्रीय सदस्य शर्माले राजनीतिक हैसियतमा कार्यक्रम नगरेकोले पार्टीलाई जोड्न नहुने तर्क गर्नेहरु पनि छन् ।

तर, शर्माको निम्तामा हिमानी शाहको सामाजिक कार्यको प्रसंसा गर्न उपस्थित भएका भर्जिनिया र त्यसमा पनि लाउडन काउण्टीका डेमोक्रेटिक पार्टीका नेता, नेतृहरुले भने हिमानीलाई पूर्वयुवराज्ञी नै भनेर सम्बोधन गरेका थिए। हिमानी शाह र उनको टोली डिसीस्थित होटल ओरियन्टलमा बसेको थियो ।

राजशी ठाँटको झल्को

हिमानी ट्रष्टको अमेरिकास्थित केन्द्रीय कार्यालय उद्घाटनको जनवरी १९ को कार्यक्रममा नेता शर्मासमेत नेपाली एवं नेपाली मूलका अमेरिकी वक्ताहरुले हिमानीलाई नेपालको सत्तासीन राजखान्दानकै झल्को दिने गरी श्री ५, सरकार, मौसूफ तथा जो निगाना, बक्स, जस्ता शब्दावली प्रयोग गरेर पूर्वयुवराज्ञी हिमानी शाहलाई हौस्याएका थिए। यी शब्दावलीमा हिमानीले कुनै प्रतिक्रिया जनाइनन् जसले जे भन्छन् सुनेरै बसिन् । तर, उनले राजशी ठांट पनि देखाउन छोडिनन्।

राजसंस्थाको अन्त्यपछि सामान्य नागरिकसरह जीवन यापन गरिरहेको नेपालको पूर्वराजपरिवारलाई सो कार्यक्रममा उपस्थित अमेरिकाका नेपालीले जे भनेर सम्बोधन गरे पनि उनलाई सत्तासीन राजपरिवार सरह सम्मान गर्न उपस्थित ती नेपालीजनलाई उनले पनि आदर भाव देखाउन सक्नुपथ्र्यो र मात्रै उनको सरलताको परिचय झल्कन्थ्यो। तर, त्यस्तो हुन सकेन।

जनवरी १९ तारिकका दिन मेरिल्याण्डको सिल्भर स्प्रिङ्गमा राप्रपाका नेता लोक तिवारीले आयोजना गरेको स्वागत कार्यक्रममा उनलाई अमेरिकामा स्वगत गर्न पुष्पगुच्छा दिने नेपालीहरुलाई उनले उस्तै आदर दिन सकिनन्, चाहिनन् । उनी सोफामा बसीबसी फूलहरु लिइरहेकी थिइन्।

आफूलाई सम्मान गर्न आउनेको इज्जतका लागि पनि उनी कम्तिमा उठेर पुष्पगुच्छा लिन सक्थिन तर उनी सोफामा बसीबसी मुस्कुराएकी देखिन्थिन् अरु फूल दिनेहरु धनुष्टंकारको मुद्रा बनाउन पुगेका देखिएका थिए।(हेर्नुहोस् तस्वीर) ।

फूल बोकेर हिमानीलाई स्वगत गर्न गएका कतिपय नेपाली कांग्रेससम्बद्ध युवाहरु यस्तो परिस्थिति आइपर्दा भित्रभित्रै कुंडिएका थिए । फूल दिऊं भने हिमानी उठेर फूल लिइरहेकी छैनन्, बसेकी हिमानीलाई फूल चढाऊं धनुष्टंकार गरेको दृश्य भिडियोमा कैद हुन पुग्थ्यो ।

यस्तो विषम परिस्थितिमा फूल दिएर फर्किएका एक युवा कांग्रेसले डिसी नेपालसंग भने, वाध्यतामा परियो, धनुष्टंकार गर्ने रहर होइन । कतिपयले सामाजिक सञ्जालमा आएका फोटाहरु पनि धनुष्टंकार शैलीका भएको देखिएपछि पोष्टकर्तालाई नै फोन गरेर पनि हटाउन लगाएका थिए।

 

जतिसुकै ठाँटबाँट देखाए पनि हिमानीले थापेको झोलीमा उल्लेख्य रकम भने पर्न सकेन। डिसी क्षेत्रमा उद्घटनका दिन र त्यसपछि गरेर लागभग १२ हजार डलरको हाराहारीमा रकम उठ्न सकेको बताइएको छ। यसमा होटलमा कार्यक्रमको खर्चको हिसाव गर्दा ज्यादै कममात्रै रकम ट्रष्टमा जाने देखिएको नाम उल्लेख नगर्ने सर्तमा ट्रष्टका एकजना प्रतिनिधिले बताए । रकम दाताहरुले पारदर्शिताबारे प्रश्नसमेत उठाएका छन्।

दूतावासले गरेन स्वागत

हिमानी टष्ट अमेरिकाका पदाधिकारीहरुले अमेरिकास्थित नेपाली दूतावासका कामुराजदूत कुमार खरेललाई हिमानी शाहको स्वागतमा दूतावासमा एउटा कार्यक्रम गर्नका निम्ति निकै दवाव दिएको थियो । व्यक्तिगत सम्पर्कसमेतको प्रयोग गरिएको थियो तर कामु खरेलले हिमानीलाई बोलाएर दूतावासको आयोजनामा कार्यक्रम गर्ने आंट गरेनन्।

उनले नेपालमा परराष्ट मन्त्रालयका अधिकारीहरुसंग समेत परामर्श गरेर नै हिमानीको स्वागतमा कार्यक्रम नगरेको बताइएको छ । तै पनि टष्टको कार्यालय उद्घाटनका दिन उनलाई विशेष अतिथिका रुपमा निम्त्याइएको थियो तर उनी त्यहाँ पनि गएनन् ।

हिमानीलाई दूतावासले वेवास्ता गरेपछि डिसी क्षेत्रमा रहेका राजसंस्थावादी नेपालीहरु भने रुष्ट बनेका छन् । केही हप्ताअघिमात्र दूतावासले नेकपा एमाओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसीको स्वागतका लागि अर्कै वाहनामा कार्यक्रम आयोजना गरिदिएको थियो । यो थाहा पाएका उनीहरुले माओवादीका लागि ठूलो कार्यक्रम आयोजना गरेर लन्चसमेत खुवाउने दूतवासले हिमानी आउंदा वेवास्ता गरेकोमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

राति १० बजेसम्म कुराइन्

जनवरी १८ तारिकमा उनी डिसी क्षेत्रमा आएपछि हिमानीलाई स्वागत गर्न र उद्घाटन समारोहबारे परामर्श गर्न टष्टका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले हिमानीसंग भेटघाटको कार्यक्रम भर्जिनियाको फेयर फ्याक्सस्थित तन्दुरी नाइट्स नामक नेपाली रेष्टुरांमा राखेका थिए ।

साँझैमा सो स्थानमा पुगेका टष्टका अधिकारीहरु तथा अरु राज्यबाट हिमानी शाहलाई भेट्न आएका टष्टसम्बद्ध व्यक्तिहरु राति १० बजेसम्म हिमानीलाई कुरेर बसेका थिए । १० बजेसम्म पनि आउने अत्तोपत्तो नभएपछि उनीहरुले होटलमा खाना बनाउन लगाएर खाई विदा हुनुपरेको थियो।

छोरा हृदयेन्द्रसँग कुरा गर्नु परेकोले आउन नसकेको जानकारी पछिमात्र उनीहरुलाई दिइएको थियो । हृदयेन्द्रलाई बोष्टनको विश्वविद्यालयमा अण्डरग्राजुएट लेवलमा भर्ना गरी हिमानी डिसी क्षेत्रमा आएकी थिइन् ।
बाह्मणले धेरै समय लिएपछि

उद्घाटन कार्यक्रममा हिमानीले पानसमा बत्ति बालेपछि संस्कृतका श्लोक उच्चरण गर्न ब्राह्मणलाई मन्चमा बोलाइएको थियो । कार्यक्रम तय गर्दा उल्लेख नभएको यो कुरा अचानक आएको भन्दै हिमानीको अभियानमा लागेका क्रिश्चियन समुदायका नेपालीहरुले चित्त दुखाएको ट्रष्टका एकजना सदस्यले डिसी नेपाललाई बताए।

अमेरिकी नागरिकहरु र नेपाली अमेरिकन क्रिश्चियन समाजका व्यक्तिहरुसमेत उपस्थित सो कार्यक्रममा ब्राहमणको मन्त्रोत्चारण निकै लामो भएपछि आयोजक संस्थाका महासचिव आनन्दु लामा स्वयं ब्राम्हण बोल्दै गरेको मञ्चमा गई उनको कोटको फेरो तानेर छिटो सक्न भन्दै गरेको भिडियोमा देख्न सकिन्छ ।

(हेर्नुहोस् भिडियो पनि) ।

न्यूयोर्कमा देखा परे हृदयेन्द्र

बोष्टनमा पढ्न भनेर ल्याइएका हृदयेन्द्र शाह जनवरी २६ देखि शुरु भएको हिमानी टष्टको कार्यक्रमका सन्दर्भमा न्यूयोर्क पुगेका थिए । हिमानी शाह न्यूयोर्कबाट नै नेपाल फर्किने भएपछि उनी आमालाई विदा गर्न न्यूयोक पुगेको बताइएको छ ।

न्यूयोर्कको कार्यक्रम सकेर हिमानी जनवरी २९ मा बैंकक फर्किने र त्यतैबाट नेपाल जाने बताइएको छ । बैंककमा उनका छोरीहरु अध्ययन गर्दछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *