नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशनमा १८-१९ चैतमा
काठमाडौं । लोकतान्त्रिक लेखक स्रष्टाहरूको संस्था नेपाली लेखक संघको केन्द्रीय समिति, सचिवालयको गत साता बसेको बैठकले संघको सातौँ राष्ट्रिय अधिवेशन आगामी १८-१९ चैत २०७८ मा सम्पन्न गर्ने निर्णय गरेको छ ।
नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन सम्पन्न गर्नका लगि महासचिव डा। रत्नमणि नेपालको संयोजकत्वमा २१ सदस्यीय सातौँ राष्ट्रिय अधिवेशन मूल आयोजक समिति गठन गरिएको छ । संघका केन्द्रीय सचिव नवीनचन्द्र घिमिरेलाई समितिको सदस्य-सचिव तथा वर्तमान कार्यसमितिका अध्यक्ष र उपाध्यक्षहरूलाई आयोजक समितिको सल्लाहकारको जिम्मेवारी तोकिएको छ ।
अधिकांश प्रतिनिधिहरूलाई पायक पर्ने गरी यथाशीघ्र नै अधिवेशनस्थलको टुंगो लगाउने संघका महासचिव तथा अधिवेशन मूल आयोजक समितिका संयोजक डा। नेपालले बताए ।
नेपाली लेखक संघको विधान, २०६४ लाई समय सापेक्ष बनाउन विधान संशोधनका लागि संघका पूर्वअध्यक्ष एवं सल्लाहकार डा. तुलसीप्रसाद भट्टराईको संयोजकत्वमा ५ सदस्यीय विधान संशोधन मस्यौदा तर्जुमा समिति र नेपाली लेखक संघको मुखपत्र ‘लेखक’ प्रकाशन गर्नका लागि संघका महासचिव डा. रत्नमणि नेपाल प्रधानसम्पादक रहने गरी ७ सदस्यीय सम्पादक मण्डल गठन गरिएको संघका अध्यक्ष श्रवण मुकारुङले बताए ।
सिर्जनशीलताका माध्यमबाट अभिव्यक्ति स्वतन्त्रता र प्रजातन्त्रका लागि निरन्तर पहरेदारी गर्ने ध्येयका साथ नेपाली लेखक एवं स्रष्टाहरूको साझा चौतारीका रूपमा रहेको नेपाली लेखक संघको स्थापना २००८ सालमा भएको थियो ।
Facebook Comment