किन मौन छन् उपेन्द्र?

काठमाडौं । एमसिसीको पक्षविपक्षमा सबैजसो राजनीतिक दल र नेताहरू खुलेर लागेका बेला सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव भने कतै खुलेका छैनन् ।
उनकै पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने खुलेर एमसिसीको पक्षमा उभिएका छन् । एमसिसी सदनबाट पास हुनैपर्ने उनको भनाइ छ । एमसिसीसम्बन्धी भट्टराईको धारणा पार्टीको नभई व्यक्तिगत भएको अध्यक्ष यादवनिकट नेताहरू बताउँछन् । एमसिसीमा यादव नखुलेपछि पार्टीमा उनी पक्षका नेता अलमलमा छन् ।
एमसिसीमा यादवको धारणा के हो भन्ने उनीनिकट नेतालाई पनि थाहा छैन । सत्ता गठबन्धनको शुक्रबार बिहान बसेको बैठकमा अध्यक्ष यादव सहभागी थिए । बैठकमा उनले मध्यममार्गी बाटो एमसिसी सदनमा पेस गर्न दिनुपर्ने धारणा राखेको तर पास गर्ने या नगर्नेबारे केही नबोलेको स्रोतले बतायो । अध्यक्ष यादवनिकट एक नेताले भने, एमसिसीमा नखुले पनि उहाँको भित्री मनशाय यथास्थितिमा यो पास गर्नुहँदैन भन्ने बुझ्न सकिन्छ। तर बोल्नुभएको छैन ।’
जसपा सांसद इस्तियाक राई एमसिसीजस्तो महत्त्वपूर्ण र चर्चित विषयमा पार्टीले निर्णय गरी एउटा धारणा बनाउनुपर्ने बताउँछन् । जसपा कार्यकारिणी समिति सदस्य तथा मिर्गेन्द्रसिंह यादवले भने, ‘उहाँ । (अध्यक्ष) ले एमसिसीको विषयमा प्रस्ट बोल्नुभएको छैन । पक्षमा हुनुहुन्छ या विपक्षमा हुनुहुन्छ, थाहा हुन सकेको छैन ।’ जसपा कार्यकारिणी समितिका अर्का सदस्य मनीष सुमनले एमसिसीबारे पार्टीले संस्थागत निर्णय गर्न नसक्दा आफूहरू अलमलमा परेको बताए । नागरिक दैनिकबाट
Facebook Comment