दाङ क्रिकेट लिगमा पनि अक्सन हुने
दाङ । दाङ क्रिकेट संघको आयोजनामा चैत १२ गतेदेखि जिल्लामै ठूलो प्रतियोगिता रुपमा ‘दाङ क्रिकेट लिग–२०७८’ हुने भएको छ ।
शुक्रबार घोराहीमा पत्रकार सम्मेलन गर्दै संघले पाँचवटा फ्रेन्चाईज क्लबमार्फत अक्सनमा आधारित रही खेलाडी खरिद गरी प्रतियोगिता गर्न लागेको बताएको छ ।
संघका अध्यक्ष प्रदिप मजगैयाले पाँचवटा टिम रहने प्रतियोगितामा हरेक टिमले १४ जना खेलाडी खरिद गर्ने बताए । उनका अनुसार प्रत्येक टिममा दाङका १६ वर्ष मुनिका २ जना, १९ वर्ष मुनिका दुईजना र सिनियर खेलाडीको हकमा कप्तानसहित ६ जना रहने छन् ।
त्यस्तै लुम्बिनी प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी २ जना र नेपालभरबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी २ जना गरी १४ जना खेलाडीको टिम रहनेछन् । जसमा १३ जना अक्सन विधिबाट आउने छन् भने एक जना महत्वपूर्ण खेलाडीको रुपमा महंगो मूल्यमा टिम आफै भित्राउन पाउनेछ । सो खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको र जिल्ला बाहिरको हुनुपर्ने प्रावधान राखिएको छ ।
हरेक टिमका खरिद गर्दा न्यूनतम ८४ हजारदेखि अधिकतम १ लाख ४८ हजार रुपैयाँ खर्च गर्न सक्ने सीमा तोकिएको छ ।
दाङ जिल्ला क्रिकेट संघका पूर्व अध्यक्ष किशोरचन्द्र गौतमले एकजना खेलाडी बराबर न्यूनतम ४ हजार मूल्य तोकिएको बताएका छन्।
चैत १८ गतेसम्म दाङको घोराही रंगशालामा हुने प्रतियोगिताको राशि नगद २ लाख राखिएको छ । त्यस्तै उपविजेताले टिमलाई १ लाख प्रदान गरिनेछ भने विधागत रुपमा उत्कृष्ट भएका खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।
प्रतियोगिताले जिल्लाको खेल क्षेत्रको विकास र प्रर्वद्धनमा सहयोग पुग्ने संघले विश्वास गरेको छ ।
Facebook Comment