व्यंग्य : कुर्सी जोगियो सत्तासुख भोगियो
मौका र परिस्थिति अनुसार दायाँबायाँ केहीको बिचार नगरी आफूलाई मात्रै फाइदा हुने गरी बोली बिकाउने, सबैथोकको तिलाञ्जलि दिएर भएपनि कुर्सी टिकाउने, क्षमताभन्दा बढी जान्नेसुन्ने भएर अरु सबैलाई राष्ट्रबाद सिकाउने र स्वदेशमा शासन चलाउन बिदेशबाट बुद्धि झिकाउने शिर्ष नेतृत्व भएपछि जनताको समृद्धिको लागि खासै मेहनत गर्न नपर्ने रहेछ।
जनताको सुख समृद्धि र उन्नति प्रगतिको लागि नेताकै पहिले सर्वांग बिकास हुन र उनीहरुले नै चाहेजति नगद छुन सक्ने अबस्थामा पुग्नुलाई पहिलो शर्त मानिने अनि त्यति भएपछि असल नेता हुन् भनेर जानिने हो कि क्या हो भन्ने सोचेर हिँड्ने मुर्खहरुलाई नेताहरुको सारै राम्रो कृपादृष्टि हुने हो कि जस्तो देखिन्छ।
त्यस्ता सोच भएकाहरुलाई असल सक्षम र जनप्रेमी नेताले कहिले यता लडाउने, कहिले उता लडाउने, कहिले बिभिन्न खाले सपनाहरु बाँडेर कुर्दाकुर्दै सडाउने, कहिले काँधमा चढाउने कहिले कहिले कसैले नबुझ्ने खाले पाठ पढाउने गरेर जनतालाई अलमल्याएको हो कि भनेर कुरै नबुझी सन्किने र नेताहरुको इशारा अनुसार जता भन्यो त्यतै भन्किने मानिसहरुको कुरा सुनेर काम छैन।
कुनैपनि कुरा नेताले नबुझेको भन्नै नमिल्ने हुनाले जनताले नै नबुझेकोमा कसैको दुईमत छैन। जनतापनि नेता बिशेषका जनता, गुट बिशेषका जनता, दल बिशेषका जनता, स्थान बिशेषका जनता, समय बिशेषका जनता, परिस्थिति बिशेषका जनता, चुनावको समयका जनता गरी बिभिन्न प्रकारमा बाँडिएका र नेताहरुद्वारा नै भाँडिएका जनतालाई जताजता लतार्यो त्यतात्यतै लतारिने अनि कुरै नबझिकन उफ्रिन हतारिने गर्दा राष्ट्रिय एकता ज्यादै बलियो हुन्छ भनेर ठोकुवा गर्ने पनि धेरैजना देखिए।
नेताहरुको बोली, ब्यबहार, गतिबिधि,आचरण आदि हेर्दा जनताले गर्व गर्नपर्ने ठाउँ धेरै छन्। सबै बिषयहरु आफ्नो आवश्यकता अनुसार ठ्याक्कै बुझ्ने र त्यही अनुसार जनतालेपनि जबरजस्ती नै भएपनि ट्याक्कै बुझिदिन पर्ने चलन ज्यादै राम्रो हो।
देशको लागि ज्यादै आबश्यक र फाइदाजनक भएकोले हालसालै संसदबाट अनुमोदन भएर कार्यान्वयनमा गएको एमसीसी नामक अमेरिकी सहयोगलाई नेताहरुले अध्ययन गर्न, बुझ्न, आफैं सन्तुष्ट हुन र जनतालाई राम्ररी बुझाउन करिब चार वर्ष लाग्यो।
त्यसमध्ये चार वर्ष पुग्न एकदुई दिन मात्रै बाँकी हुँदासम्म यो सहयोग परिमार्जन गरेर पास गर्न सकिने, कुनै हालतमा पास गर्न नसकिने, जस्ताको तस्तै पास गर्न पर्ने, यसको पक्षमा मतदान गर्दै नगर्ने, मतदानमा भाग लिँदै नलिने, मर्न परेपनि यसलाई संसदमा दर्ता गर्दै नगर्ने, यसलाई फिर्ता गरिदिने, यो पास भएमा अमेरिकी सेना यहाँ आएर मनपरी गर्छ, यो यहाँको संबिधानभन्दा माथि छ, यसमा उतैको कानुन लाग्छ, यसमा त्यस्तो केही छैन सामान्य नै छ, सेना आउने हुँदै होइन, यो सहयोग नलिए अरु सहयोगहरुपनि कटौती हुन्छ आदि भनेर यसमा वास्तबमा के छ भन्ने कसैले नबुझेको र बुझ्न नखोजेको हो कि भन्नेपनि देखिए।
गठबन्धन फोडेर र सम्बन्ध तोडेर सरकारबाट घोक्रेठ्याक लगाउँछु अनि बालकोटेसित गठबन्धन गरेर तिमीहरुलाई भगाउँछु भन्ने सरकार प्रधानको धम्किपछि लुत्रुक्क परेर खुत्रुक्क एमसीसी पास गर्न अघि बढेको जनतालाई थाहा नभएको हुनाले उहाँहरुले भनेको सही नै होला।
कुरा त्यसो होइन। नेताहरुले यसलाई राम्ररी बुझेर जनताको हितमा कसरी प्रयोग गर्न र त्यस्तो महान कार्य गरेर तर्न सकिन्छ कि सकिन्न भन्ने कुरा बिस्तृतमा मनन गर्न खोज्दा जसको जेसुकै हनन् भएपनि जायज हुन्छ भनेर यसो गरेको सबैले बुझिदिन पर्छ।
अरु यसमा कुनैपनि नेताको ब्यक्तिगत, दलगत वा बिचारको कारणले उनीहरुको सहयोगी राष्ट्रगत कुनै स्वार्थ रहेनछ भन्ने त अहिले पास भएपछि नेताहरुले ब्यक्ति पिच्छे दिएका अभिब्यक्तिहरुबाट प्रष्ट भयो। यस्ता अभिब्यक्तिले बेकारमा नेताहरु माथि शंका उपशंका गरेर धारेहात लगाउने र बिरोधमा अरुलाईसमेत जगाउने काम गरेर हिँडेका समूहले पनि केही शिक्षा पाएजस्तो अनि नेताहरुको सोच सारै राम्रो रहेछ भन्ने चेत आएजस्तो भएको छ।
गएको केही महिनाबाट भएको एमसीसीको चर्चाले सबैतिरको माहौल तताएको, कसैले यस्तो कसैले उस्तो भनेर सबैजना भ्रममा पर्ने गरि आफ्नो स्वार्थ अनुसार बताएको र सोझासाझा जनताको दिमाग नै भाँडिने गरि सताएको अबस्था रहेको थियो। सत्तामा रहेका सरकार प्रधान जसरी हुन्छ यसलाई पास गर्न सहयोगको याचना गर्दै र हरेक शिर्ष भनिनेहरुको दैलोदैलोमा पसारो पर्दै हिँडेका देखिन्थे।
सत्ता गठबन्धनका मुख्य कलाकारहरु स्वघोषित महान नेता खुमलटारे कामरेड र स्वघोषित अति नैतिक नेता कोटेश्वरे कामरेड यसलाई पास गरेमा सबैतिर नाश हुन्छ भन्दै हिँडेका थिए। कतै नबिकेर जसपामा टाँसिएका र दक्षिणी छिमेकितिर घाँटी गाँसिएका भनेर चर्चित गोरखाली भट्टराई कामरेड यसलाई बिना परिमार्जन नै पास गर्न पर्छ भन्दै सामाजिक सञ्जालको साथै बिभिन्न कार्यक्रमहरुमा बोल्दै र आफ्नो औकात खोल्दै हिँडेका थिए। यही दलका सहअध्यक्ष लगायतका केही नेताहरु सत्ताको स्वादपनि चाख्ने परिस्थिति अनुसार आफ्नो बिचार राख्ने मौका पर्खेर बसेका थिए।
जनमोर्चा नामक दलको त यो पास भएमा गठबन्धनबाट बाहिरिने प्रष्ट धारणा अगाडि आइसकेको थियो। बालकोटे कामरेडले एमसीसीको कुरा भयो कि सभामुखलाई हटाउने, कोटेश्वरे कामरेडलगायतका चौध माननीयलाई संसदबाट खारेज गरेर धुलो चटाउने र गठबन्धन नामक सत्तालाई भताभुँग हुनेगरी फटाउने बाहेक अरु कुरा गर्दै नगरिकन यसलाई पास गराए।
अरु सानातिना र झिना मसिना दलहरुले त समर्थन गरेर केही हातलागी नहुने हुनाले बिरोध गर्न र त्यसैको लागि अघि सर्न पर्ने बाध्यता अनुसारको कदम चाल्नु ठिकै हो। यस्ताहरुको लगि त बिरोध गर्ने बहाना पाउनासाथ आफ्नो चाहना पूरा गर्ने मौकाको सदुपयोग गर्न परिहाल्यो। त्यति गर्न नपाए बन्द आह्वान गरिदियो र मजाले घरमा सुतेर ढुक्क परिदियो आनन्दै छ।
गठबन्धनको बैठकमा एमसीसी संसदमा टेबल गर्न सहमति गर्ने र त्यहाँबाट बाहिरिनासाथ यही अबस्थामा कुनै हालतमा टेबलपनि हुँदैन र पासपनि हुँदैन भनेर भ्रम छर्ने गरेका स्वघोषित महान नेता र दलको केन्द्रीय समितिमा बिपक्षमा मत हाल्ने काम गरी यसलाई रद्दीको टोकरीमा फाल्ने निधो गरेर त्यही अनुसारको कडा कदम चाल्ने उद्घोष गरेका स्वघोषित अति नैतिकवान नेताले सबैलाई अप्ठ्यारोमा पारिदिए।
आफू बाहेक अरु सबै भ्रष्ट भएको हुनाले एमसीसीको बारेमा प्रष्ट कुरा गर्न नमिल्ने भनेका बालकोटे कामरेडले यही मौकामा आफ्नो भाउ बढाएर सरकार र चुनावमा ठुलै दाउ मार्ने बिचारले यसलाई यसैगरी अड्काउने अनि दुबैतिर ठूलो माल पड्काउने तारतम्य मिलाउन खोजे।
गठबन्धन तोड्नपनि नसक्ने र हातमा रहेको कुर्सी छोड्नपनि नसक्ने अबस्थामा भएकाहरु जनता र कार्यकर्ताहरुको कारणले एमसीसीमा आफूलाई जोड्नपनि नसक्ने बिचित्रको समस्यामा परेका शिर्षहरुको मनोदशालाई राम्ररी बुझेका सरकार प्रधानले यही तुरुप प्रयोग गरेर बालकोटे कामरेडतिर लहसिए पछि अरुलाई आपतै परेको देखियो।
आफू सरकारमा हुँदा एमसीसीलाई सुरुदेखि यहाँसम्म ल्याइ पुर्याउने यिनीहरु सबै भएको र आफैंले गिजोलेर यो अबस्थातिर गएको बुझेपनि बुझ पचाउने नेताहरुले आफ्नो बोली, ब्यबहार, कार्य, मनको भित्री इच्छा, बिदेशी महाप्रभुको डर, चुनावको अकल्पनीय नतिजाको आँकलन, गठबन्धन टिकेन वा आफ्नो हैसियत बिकेन भने रसातल यात्राको सम्भावना,जनतालाई ढाँट्ने र ब्यबहार बिपरित गफ छाँट्ने बानी, यो पास भएन भने अमेरिकी र उसका अनुयायी राष्ट्रहरुले पानी मुनी गएपनि नछोडेर राजनीति समाप्त गरिदिने सम्भाबित ग्यारेन्टी र यहाँका जनतालाई ठूलो कुरा गरेर गफ दिएपनि बिदेशीका अगाडि यिनीहरुको खुट्टा कति लुलो हुन्छ भन्ने बुझेकाहरुलाई बताइराख्न पर्दैन।
केही छिन र केही दिन जनतालाई भ्रममा पार्न र सम्भाबित जनगुनासो टार्न अनि आफू जत्तिको राष्ट्रवादी कोही छैन भन्ने नौटंकी झार्न भ्याइहाल्नुलाई शिर्षहरुको ठूलो खुबीको रुपमा जनताले बुझिदिएका छन्।
यही भएर नै होला आफैंले उचालेका जनता र कार्यकर्ताहरुको घनघोर बिरोध हुँदाहुँदै पनि स्वघोषित महान नेताको इशारा अनुसार सभामुखले एमसीसीलाई लुसुक्क बुझेर खुसुक्क टेबल गर्दा बरु मर्न तयार छु एमसीसी टेबल गर्दिन भनेर गरेको आफ्नै भिष्म प्रतिज्ञा भुसुक्क बिर्सेको देखियो।
जम्मा एकजनाकोमात्रै हत्या गरेको मुद्दा सर्वोच्चमा फैसला हुन बाँकी रहेको अबस्थालाई लाजशरम नमानिकन पचाएर र यस्तै ब्यबहारबाट दलको बिगतको सुनामलाई बचाएर बसेका सभामुखले बिधिको शासनलाई ज्यादै राम्रोसित पालना गरेको देखिन्छ। यसमा सत्ताका गठबन्धनवाला र अदालतको पनि ज्यादै राम्रो साथ र सहयोग मिलिरहेको देख्दा देशैभरि बिधिको शासन मौलाएको र दोष लगाउन खोज्नेहरु नै बौलाएको प्रष्ट हुन्छ।
उनका महान निर्देशक र अन्नदाता नै सत्र हजारभन्दा बढिको हत्या गरेको र यसैमार्फत अथाह ढुकुटी भरेको भन्ने आरोपलाई सजिलैसित ग्रहण गर्दै मानव अधिकारको बिषयमा प्रबचन दिँदै हिँडेका हुनाले सभामुखको मुद्दा त आँखा चिम्लेर खारेज गरिदिएमा जनता खुसी हुने थिए।
संसदमा एमसीसी टेबल भएपछि र पारित गर्ने प्रकृयामा गएपछि आफ्नो दलका कार्यकर्ता उचालेर त्यसको बिरोधमा ढुंगामुढा, तोडफोड, सडक पेटिका ब्लकहरु निकालेर प्रहरीसित हानाहान र तानातान गर्न लगाउँदा भएको उपलब्धिलाई सानो रुपमा बुझिदिन हुँदैन। लामो समयसम्म मुठभेडको अभ्यास नगरी त्यसै राख्दा कार्यकर्ता भुत्ते भएर काम दिन र दलमा लाग्नुको लाभ लिन नसक्लान् भनेर त्यसको अभ्यास गर्ने सुबर्ण अवसरलाई सदुपयोग गर्नु ज्यादै राम्रो कुरा हो।
अघिपछि यस्तो तालिम दिने अबसर प्राप्त हुन अचेल अलि मुश्किल हुँदै गएको हुनाले एमसीसीले जुराइदिएको मौकामा भरपुर अभ्यास गराउन पाए भबिष्यमा आफ्नो इच्छा अनुसार चराउन पाइने हुनाले यसको जति सराहना गरेपनि कम हुन्छ।
आफैं सरकारमा, आफैं सदनमा र आफैं सडकमा उत्रिएर आफ्नै सरकारको सुरक्षा अंगसित कार्यकर्तालाई लडाएर आफैं दंग पर्दै एमसीसी भंग गरौँ भनेर बाहिर हल्ला गरेर भएपनि उच्च तहको मुठभेडको अभ्यास गराएकोमा जनता कार्यकर्ता र अन्य नेताहरुपनि ज्यादै खुसी भएका छन् रे भन्ने सुनिन्छ।
भित्रभित्र अर्कै खिचडी पकाएर बसेका ठूलै नेताहरुपनि मुठभेडमा उपस्थित भएर मुठभेडको लागि कार्यकर्ता फकाएर हिँडिरहेका देख्दा नेताहरुको जिब्रोको संख्या गन्न र उनीहरुले बोलेको यही हो भन्न मुश्किल परेपनि जनतालाई पनि सबै बिषयका बिज्ञ भन्दा कम ठान्न अनि अबुझ भनेर जान्न नहुने देखिन्छ।
यस्तो अबस्थामा देश बिभिन्न ध्रुवमा बिभाजन हुने भयो र अब केही समय टिकेको शान्ति फेरि कोसौँ टाढा गयो भन्ने सबैलाई सोच्न बाध्य बनाएर छोडेजस्तो लागेको समयमा एउटा चमत्कार नै भएजस्तो देखियो। दर्ता होला भन्ने कसैले नसोचेको अबस्थामा सँसदमा प्याट्ट दर्ता भएको एमसीसी बिधेयक कसैले कल्पनापनि नगरेको ब्याख्यात्मक घोषणासहित संसदबाट फ्याट्ट पास भएको सुन्दा र देख्दा सबैजना जिल्ल पर्दै खुसी पनि भए।
धेरै माननीयहरुले समर्थनमा गतिलै भाषण ठोके, यसलाई अबिलम्ब पास गर्न पर्छ भन्दै अति राम्रो सहयोग हो भनेर तोके, केहिले बिरोध गरेर भबिष्यमा शिर्ष नेताहरुको कोपभाजनको शिकार हुने सम्भावना बोके र एकदुई जनाले घोर बिरोध गर्दै देखावटी रुपमा भएपनि आइपर्न सक्ने आक्षेपलाई रोके।
हुन्छ भन्नोस् र हुन्न भन्नोस् भन्ने सभामुखको आदेशमा बिपक्षीको नाराबाजीको बीचमा उस्तैउस्तै आवाज सुनिएपनि सभामुखले हुन्छ भन्ने माननीयहरुको संख्या बढी भएकोले बहुमतबाट एमसीसी पारित भएको घोषणा गरे। सबैले जोडजोडले टेबल ठटाएर, सबै बाधा बिरोधहरुलाई हटाएर र सबैका असन्तुष्टिहरुलाई फटाएर भएपनि एमसीसीको समस्यालाई डाँडो कटाएर पारित गरिदिए। गठबन्धनका शिर्षलगायत सबै माननीयहरु एमसीसी पारित भएर हो वा सरकारको कुर्सी जोगिएकोमा हो निकै प्रफुल्ल देखिए।
प्रमुख प्रतिपक्ष संसद भित्रै भएपनि बैठक बहिस्कार गरेर नारा लगाउँदै सभामुखको वेल घेराउ गरेर यसको सबै प्रकृया देखेर सुनेर र प्रत्यक्ष सहभागी भएर पनि आफ्नै तालमा मस्त हुँदै कतै भाग नलिए जस्तो बहाना गरी साक्षी बसेर पारित गर्न ठूलो सहयोगीको भूमिका खेलेको,पास गर्नकै लागि आफ्ना माननीयहरुलाई यो बिषयमा नबोल्नु भनेर अप्रत्यक्ष रुपमा पेलेको, भविष्यमा अमेरिकिले पेल्न सक्छ भनेर यो नाटकीय बहिस्कार झेलेको र कुनै अप्ठ्यारो नपारिकन एमसीसीलाई पास गर्ने दिशातिर ठेलेको हो भनेमा खासै गल्ती होला जस्तो देखिँदैन।
बालकोटे र कोटेश्वरे कामरेडहरुले आफू निकै जिब्रोधारी प्राणी भएको प्रमाणित गर्दै र गठबन्धनको नाममा सत्तामापनि चर्दै हिँडेर हैरान पारेपछि सरकार प्रधानले अब आफू बालकोटे कामरेडको माग पूरा गरेर उनैसित मिल्ने अनि यसले उहाँहरु दुबैलाई निल्ने अन्तिम उपाय बताएको अबस्थाले दुबैलाई जसरी हुन्छ एमसीसी पास गरेर आआफ्नो कुर्सी जोगाउन तताएको भएर दायाँ बायाँ हेर्दै नहेरी यो यूटर्न मारिएको र आफैंलाई बैतरणी तारिएको जस्तो लागेपनि कुरा त्यसो होइन रे भन्ने उहाँहरुले भनेपछि थाहा भयो र सबैले पत्याए पनि।
यसको समाधानको सुत्र ब्याख्यात्मक घोषणा पनि उतैबाट तयार भएर आएको र यसबाट सबैले पार पाएको भन्ने हल्लामा बिश्वास गर्न हुँदैन। जसले जेसुकै भनेपनि र जेजस्तो स्तरमा गनेपनि केही फरक नपर्ने भइसकेको र जनताको भनाइ गैंडाको छालामा कन्यााए जस्तो असरहिन रुपमा गइसकेको अबस्थामा धेरै खोतली राख्नै परेन।
जसले बुद्धि लगाएर तयार गरेको भएपनि ब्याख्यात्मक घोषणाको माध्यमबाट सबैको आँखामा छारो हाल्ने र एमसीसीको घाँडो सजिलैसित फाल्ने तरिकालाई मान्नै पर्छ। संबिधान, ऐन नियम कानुन, बिभिन्न आचार संहिताहरु, आफ्नै चुनावी घोषणा पत्रहरु, बिभिन्न प्रतिबद्धताहरु, बिभिन्न सहमति सम्झौताहरु आदि आदिलाई कहिल्यै नमान्ने र यस्ता कुराहरुलाई पालना गर्न पर्छ भनेर कहिल्यै नठान्ने शिर्षहरुले कहिँ नदेखिएको र कहिँ कतै नसुनिएको ब्याख्यात्मक घोषणाको पालना गर्छन् वा गराउँछन् भनेर सोच्नु कहाँसम्म ठिक होला भन्ने जनतालाई राम्ररी थाहा भइसकेको हुनाले धेरै ब्याख्या गरिराख्न पर्ने बिषय नै होइन।
एमसीसी पारित गरेपछि त्यसमा मेरो गल्ति छैन भन्ने सफाइ दिन र कार्यकर्ता र जनतालाई फेरि उल्लु बनाउँदै जस लिन गरेको पत्रकार सम्मेलनमा खुमलटारे र कोटेस्वरे कामरेडले आफ्नो अन्तिम समयको यूटर्नले संविधान,राष्ट्रिय अखण्डता, आन्दोलनको उपलब्धि आदि जोगिएको र यसको अगाडि अहिले भोगिएको सत्ता गठबन्धनको स्वाद त केहिपनि होइन भन्न भ्याएछन्।
गठबन्धन फोडेर र सम्बन्ध तोडेर सरकारबाट घोक्रेठ्याक लगाउँछु अनि बालकोटेसित गठबन्धन गरेर तिमीहरुलाई भगाउँछु भन्ने सरकार प्रधानको धम्किपछि लुत्रुक्क परेर खुत्रुक्क एमसीसी पास गर्न अघि बढेको जनतालाई थाहा नभएको हुनाले उहाँहरुले भनेको सही नै होला।
पत्रकार सम्मेलन गरेर बालकोटे र काटेश्वरे कामरेडले एकअर्काको सत्तोसराप गर्नमै लगभग पुरै समय खर्च गरेको हुनाले पत्रकार सम्मेलन खास कुन बिषयमा भएको भन्ने नै कसैले बुझ्न सकेनन् तैपनि यस्ता छुद्रहरुको बारेमा कसैले केही बकेनन्।
छोटकरीमा भन्नपर्दा लंगौटी फुकालेर जुंगा छोप्दा जस्तो देखिन्छ अहिले उहाँहरुले दिएको सफाइ ठ्याक्कै त्यस्तै देखिएको हुनाले उहाँहरुको बिगतको क्रियाकलापसितपनि ट्याक्कै मिलेको देख्दा जनता औधी खुसी भएका छन्।
आफैंले थुकेको थुक चाटेपनि, कुर्सीको भाउ तोकेर जोसुकैसित जेसुकै साटेपनि, जनतालाई ढाँट्न हावादारी गफ जुनसुकै तरिकाले बाटेपनि र अहिले भर्खरै बोलेको कुरा तुरुन्तै अर्को भनाइले काटेपनि अहिलेलाई अनेक तिकडम गरेर भेट्टाएको असंबैधानिक गठबन्धनको कुर्सी जोगियो र चुनाव पछिको अबस्था धरमर भएपनि त्यतिन्जेलसम्मको लागि सत्तासुख भोगियो भनेर शिर्षहरुले मनमनै भनेको बुझेर जनताकोपनि खुसीले भुइँमा खुट्टा छैन। यस बाहेक अरु सबै हाललाई तपसिलका बिषय मात्रै हुन्।
Facebook Comment