एमसीसी, समाजवाद र कुन्साङ काका

डिसी नेपाल
२१ फागुन २०७८ १७:१८

रातीको दुई बजे मैले माथिको शीर्षकमा मोहोर लगाएँ । एमसीसी समाजवाद र कुन्साङ काका । हुन त अरु एक दुई शीर्षकमा म नघोत्लिएको होइन । कुन्साङ काकाको ठाउँमा अरुलाई राखेर नहेरेको पनि होइन । तर जे लेख्न र भन्न खोजिएको हो, त्यसको हुलाकी गर्नसक्ने सबैभन्दा उपयुक्त पात्र मलाई कुन्साङ काका मात्रै लागे । त्यसैले जस अपजस शिरोपर गर्छु भनेर माथिको शीर्षकमा मैले ढिलो गरी अन्तिम मोहोर लगाएँ ।

एमसीसी र अमेरिकाको बारेमा त मलाई लेखिरहन र भनिरहन पर्छ जस्तो लाग्दैन । यो बिषयमा थाहा नपाएको विद्वत नेपाली कि जन्मेकै छैन, जन्मिहालेको भए पनि त्यो नवजात शिशु कोक्रामै होला, भन्ने मेरो धारणा छ । त्यसैले, अघिल्ला दुई वाक्यालंकारका बारेमा पनि नकुरा गरौं । अब बाँकी रहे, कुन्साङ काका । आउनुस् एमसीसी र समाजवाद वरिपरि रहेर काकाका कुरा गरौं । कुन्साङ काकाका कुरा ।

आज दुई दशकपछि पनि म कुन्साङ काकालाई सम्झिरहेको छु । उनको त्यो लेख सम्झिरहेको छु । लोकप्रिय राष्ट्रिय दैनिकमा साप्ताहिक रुपमा काका आउँथे । आउँथे र आगो लगाएर जान्थे । काकाको एउटा लेख दुई दशकपछिसम्म पनि म सम्झिरहेको छु भने तपाईं आफै काकाको प्रभाव अनुमान गर्न सक्नुहुन्छ । लेखकको पृष्ठभूमि र लेखको मर्म म छोटकरीमा तल लेख्ने अनुमति चाहन्छु ।

कुन्साङ काका सधै अब्बल दर्जाको उग्र क्रान्तिकारी घोडामा सवार हुन्थे । उनी तिनताका दौडिरहेको घोडाबाट ओर्लिएको मेरो स्मरणमा नै छैन । काका दौडिरहेको घोडामै खाने, पिउने, सुत्ने र लेख्नेसम्मका काम गर्थे ।

कुन्साङ काका सधै अब्बल दर्जाको उग्र क्रान्तिकारी घोडामा सवार हुन्थे । उनी तिनताका दौडिरहेको घोडाबाट ओर्लिएको मेरो स्मरणमा नै छैन । काका दौडिरहेको घोडामै खाने, पिउने, सुत्ने र लेख्नेसम्मका काम गर्थे ।

तिनै काकाले आफ्नी छोरीको फूलमालामा हो कि विवाहकै प्रसंगमा एउटा गजबको लेख लेखे । म आजपर्यन्त त्यो कालजयी आलेख सम्झिरहेको छु । काकाले छोरीलाई समाजवादी संस्कार र दीक्षाले दीक्षित गरेको हुँदा काकाकी छोरी विभेदको प्रतीक नाकको फुली नलगाउने रैछिन । अब फुली नै नलगाएपछि चुरा, पोते, सिन्दूर, सारी, गरगहना आदि इत्यादि झन् लाउने कुरै भएन । त्यसैले काकाकी छोरी मेड इन चाइना लेखेको भ्याङ्लो जिन्सको पाइन्ट र टिसर्टमा फूलमालामा उपस्थित भइन् ।

बेहुलीको जनवादी हुलिया देखेर काकाका सम्धी खलक झस्किने नै भए । ती झस्किए । त्यही झस्काइ मन नपराएका काकाले आफ्नो सैद्धान्तिक कित्ताकाट स्पस्ट हुनेगरी र सारा अज्ञानी जनका घैंटोमा समाजवादी घाम लाग्ने गरी आगो ओकलेर त्यो अजर अमर लेख लेखेका थिए ।

म आज पनि सम्झ्न्छु, फुली र बुलाकीलाई भैंसीको नाकीसँग तुलना गरेर काकाले दुई बित्ता जति लेखेका थिए । स्वास्नी मान्छेका नाकमा भएको बुलाकी तिनलाई भैंसीझैं कज्याउन र नियन्त्रणमा राख्न तीन हजार बर्षदेखि पुरुष सत्ताले प्रयोग गरेकाले बुलाकी र फुली छोरीलाई सानैदेखि बहिष्कार गर्न सिकाएका भनेर सगर्व घोषणा गरेका थिए ।

त्यसपछि अरु एक दुई बित्ता काकाले सामन्ती सिन्दुरे प्रथाको विरोधमा भरे । पूँजीवादी गहनापातको विरोधमा थप दुई बित्ता लेखे । विस्तारवादी सारीको विरोधमा लेखे । धुन्धुकारी धर्मभिरु पुरेत्याइँ र पुरेतको विरोधमा लेखे । कन्यादान प्रथाको विरोधमा लेखे । दाईजो प्रथाको विरोधमा लेखे । भोजप्रथाको विरोधमा लेखे । माथि नै भनिहालेँ काका सधैँ उग्र क्रान्तिकारी घोडामा सवार हुन्थे । छोरीको बिहेमा पनि काका घोडाबाट ओर्लिएनन् र घोडा चढेरै सामन्तवाद, पुँजीवाद र विस्तरवाद विरुद्ध धावा बोलेर उक्त घोर क्रान्तिकारी आलेख छपाए ।

यता, पाठकको रुपमा म पनि बडो प्रभावित भएँ । हो त ! जस्तो लागेर आयो । यस्तो क्रान्तिकारी बाउ पो बाउ जस्तो भयो । यस्ता समाजवादले दीक्षित छोराछोरी पो छोराछोरी जस्तो लाग्यो । यस्तो समाजवादी घरपरिवार पो नमूना घरपरिवार जस्तो लाग्यो । यस्तो सामन्तवाद, पुँजीवाद र विस्तारवाद विरोधी दीक्षा र संस्कार पो संस्कर र जीवनशैली जस्तो लाग्यो ।

मलाई काकाका छोराछोरी चुरापोते, बुलाकी, टोपी र दौरा नलगाई समाजवादी आदर्शमा कटिबद्ध भएर देशमै बस्नेछन् भन्ने कुरामा कहिल्यै कुनै शंका भएन । विदेशै जानुपरे सकेसम्म समाजवादी आदर्श मुलुक उत्तर कोरिया जालान् भन्ने लाग्थ्यो । त्यहाँ जान नसके नजिकैको छिमेकी जनगणतन्त्र चीनसम्म पाइलो हाल्लान् भन्ने लाग्थ्यो । पश्चिमतिरै लाग्नु परे क्युवा र भेनेजुएलातिर लाग्लान् भन्ने मेरो अनुमान थियो । मेरा लागि यो बेला काकाका परिवारले पूँजीवादी नर्कमा कुनै दिन पाइलो हाल्लान् भन्ने कुरो कल्पनातीत थियो ।

त्यसपछिका दिनहरुमा पनि काका निरन्तर घोडा चढिरहे । घोडा चढेरै कलम चलाइरहे । काकाले आदर्श ठानेका व्यवस्था पनि भकाभक स्थापित हुँदै गए । गणतन्त्र आयो । संघीयता आयो । देश धर्मनिरपेक्ष भयो । तर जेजे आएपनि देशभित्र दुइ छाक जुटाउन असमर्थ भएर म चाहिँ लाखौंको ताँती पच्छ्याउँदै खाडीतिर लागेँ । यता काका घोडा चढिरहे । उता म बेल्चा हानिरहेँ ।

त्यसको अर्को दशकपछि म कताकति हुत्तिँदै एमसीसीवाला देश अमेरिका आइपुगेँ । तर, म जता जता गएपनि काका, उनका लेख र उनका आदर्शलाई पछ्याउन भने छोडिन । यता एमसीसीवाला घोर पूँजीवादी देश अमेरिका आएपछि पनि समाजवादी आदर्शले ओतप्रोत काकालाई पच्छ्याउन मैले छोडिन । यता बस्दै गर्दा पत्तो पाएँ काकाका समाजवादले दीक्षित सन्तान त सपरिवार यतै छन् । म छक्क परेँ । मलाई यो दृश्य सपना जस्तो लाग्यो र आफैलाई एकपटक चिमोटेँ । तर यो असम्भव झै लाग्ने दृश्य सपना थिएन, यथार्थ थियो ।

हँ !  यो पुँजीवादी नर्कमा महान समाजवादी दीक्षाले दीक्षित, गर्व गर्न लायकका छोराछोरी के गर्दैछन ? फेरि यसो हेर्छु, अब्बल दर्जाको क्रान्तिकारिताको घोडा चढ्ने घोडसवार कुन्साङ काका पनि यतै मख्ख परेर पूँजीवादी नर्क परिभ्रमण गरिरहेका छन् । छोराछोरी र नातीनातिनीसँग यो नर्कमा रमाइरहेका छन् । फोटो खिचिरहेका छन् । पोज दिइरहेका छन् । काका स्वयम् क्रान्तिकारी घोडा छोडेर पुँजीवादी गाडीमा हुइँकिरहेका छ ।

हैट ! अब उता नेपालमा समाजवादी गोर्खे आन्दोलन के हुन्छ ? बुलाकी र फुली बिरोधी आन्दोलनको नेतृत्व र पैरवी कसले गर्छ ? तिनलाई भैंसीको नाकीसँग कसले तुलना गरेर लेख्छ । साम्राज्यवादलाई कसले सराप्छ ? विस्तारवादलाई कस्ले लल्कार्छ ? यस्ता समाजवादले दिक्षित छोराछोरीले पनि देश छोडेर अमेरिका पलायन भएपछि समाजवाद उन्मुख संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको रास्ट्रीय स्वाधीनताको अन्दोलन के हुन्छ ?

मेरा मथिङ्गलमा यीनै प्रश्न र आंशकाको जागाराम भइरहेका बेला नेपालको संघिय संसदले एमसीसी पारित गरेपछि भने म छ्याङ भए । खासमा पारित भएर भन्दा पनि पारित गर्ने पत्र देखेर म छ्याङ भए । साम्राज्यवाद विरोधी, भेनेजुएलावादी, नेपालमा समाजवाद स्थापना गर्न, सास्कृतिक क्रान्ती गर्न उता चीनमा अधुरै रहेको माओको सपना यता साकार पार्न १० बर्ष जनयुद्ध गरेका सर्बहाराका महान मुक्तिदाता स्वयले एमसीसी पारित गर्न हात उठाएपछि बैशाख शुक्ल पुर्णिमाको दिन सिदार्थ गौतमलाई अचकन बुद्धत्व प्राप्त भएजस्तै मलाई पनि एउटा ज्ञान प्राप्त भयो । म आफुलाई प्राप्त भएको त्यहि ज्ञान छोटकरीमा बाँड्दै आजको यो आलेख टुंङ्याउने अनुमति चाहान्छु ।

हेर्नुस् ! क्रान्तिकारी घोडसवार हुने सुबिधा जुन छ, त्यो बडो क्षणिक र अस्थायी प्रकारको हुने रहेछ । त्यो कुन्साङ काकाको हकमा क्षणिक र अस्थायी छ । प्रचण्डहरुको हकमा पनि क्षणिक र अस्थाई छ । प्रचण्डको सत्ता, प्रचण्डका सभामुख र प्रचण्डका मन्त्रीहरुको हकमा पनि यसले उतिकै कठोर परिक्षा लिन्छ । घोडाबाट लघारेर उतार्छ । काकाको हकमा पनि यो उस्तै नै छ । अथवा भनौं, सबैप्रकारका ‘क्रान्तिकारी’ र ‘समाजवादी’हरुको यसले हुर्मत जानेगरी परीक्षा लिन्छ । घोडाबाट उतार्छ र जमीनमा दुई खुट्टा टेकेर हिड्न बाध्य बनाउँछ।

हेर्नुस् ! जबसम्म घोडसवारसँग गुमाउन झटारो मात्रै हुन्छ, उसँग रहर पुगुन्जेल क्रान्तिकारी भइरहने सुविधा रहन्छ । त्यसैले, उपनि खरो क्रान्तिकारी भइरहन्छ । तर, घोडसवारसँग जब गुमाउनलाई लटरम्म फलेका आँपको बगैचा हुन्छ । अथवा बगैचाको सम्भावना वा सपना मात्रै पनि हुन्छ, तब उसले त्यो सुबिधा गुमाउदै जान थाल्छ ।

जस्तो, बुलाकी र फुली नाथे नलगाउदा केहि हुदैन्थ्यो । त्यो त केवल झटारो न हो । त्यो नाथे त्याग्दा के , लाउदा के ? ति नाथे पित्तलका झटाराको बलिदानको मुल्यमा काका घोर क्रान्तिकारी र महान समाजवादी देखिन सक्थे । देखिए, तर जब सन्तानको भविष्यसँग झटारो होइन  डलर, गाडी, घर, पश्चिमा विश्वविद्यालयका डिग्री, जागिर, क्यारियर जोडिएर आउछ, विचारा कुन्साङकाकासँग काका बनिरहने सुबिधा बाँकी रहदैनन । उनि तुरन्तातुरन्ती बाउ को असली अनुहारमा प्रकट हुन बाध्य हुन्छ्न । घोडाबाट उत्रन बाध्य हुन्छ्न ।

अनि , क्रान्तिकारी लफ्फाजी हाकेर लेख लेख्ने तिनै हातहरुले भिषाको याचना गर्दै निवेदन लेखेर लाईनमा खडा हुन गएका सन्तानका बारेमा केहि लेख्दैन । तिनलाई रोक्दैन । पुँजीवादी नर्क नगएस् भन्दैन । चीन वा उत्तर कोरिया, क्युवा, भेनेजुएला वा भियतनामको विकल्प पेश गर्दैन । आफुले जीनबभरी पुजीवादी नर्क भनेर सरापेको गन्तव्य तर्फ फुलमाला लगाएर विदा गर्छ । यो हो विशुध्द गोर्खे समाजवादी आन्दोलनको वा प्रगतिशीलताको बखान गरेर कहिलै नथाक्ने कथित प्रगतिशीलहरुको वास्तविकता । यहि हो सिक्काको अर्को अध्यारो पाटो ।

सडक सत्ताका कथित प्रगतिशील र समाजवादी मात्र होइनन, सिंहदरवारका क्रान्तिकारी र जनवादीहरुको ब्यथा एउटै हो । जनयुद्द नामको उपद्रो त सबैको संस्मरणमा ताजै छ ।’अमेरिकी साम्राज्यवाद’ बिरुद्धको पनि लडाइँ भन्दै गरीबका छोराछोरी जति आहुती दिने तिनै हुन, जो अहिले एमसीसीको पक्षमा हात उठाईरहेका छन् ।

सडक सत्ताका कथित प्रगतिशील र समाजवादी मात्र होइनन, सिंहदरवारका क्रान्तिकारी र जनवादीहरुको ब्यथा एउटै हो । जनयुद्द नामको उपद्रो त सबैको संस्मरणमा ताजै छ ।’अमेरिकी साम्राज्यवाद’ बिरुद्धको पनि लडाइँ भन्दै गरीबका छोराछोरी जति आहुती दिने तिनै हुन, जो अहिले एमसीसीको पक्षमा हात उठाईरहेका छन् । याद राख्नुस्, यी हातहरु तिनै थिए जो सात समुन्द्रपारीको ‘अमेरिकी साम्राज्यवाद’लाई परास्त गर्न हाम्रा सदरमुकामहरु हान्थे र हजारौंको लासमाथीबाट अमेरिकालाई सरापेर बिज्ञप्तिहरु निकल्थे । अनि क्रान्तिकारी भइरहने सुविधाको उपयोग गर्दै हावामा मुठ्ठि उचालेर सहिदको सपना साकर पार्ने कसम खान्थे। किनभने , तिसँग गुमाउन त्यो बेला केवल तिनै कलिला झटाराहरु मात्र थिए ।

अहिले उनिहरुसँग तिनको बलिदानको मलमा लहलह फलेको आँपझुत्ते बंगैचा नै छ । ति आँपका झुत्ता भनेको सत्ता, सम्पती, सभामुख र ति सबैको मुलस्रोत गठबन्धन हो । जुन बलिदान गर्न यी बंगैचाका मालिकहरु तयार हुदैन थिए र भएनन पनि । तर यीनको लाज छोप्ने पर्दा भने झरेको छ । यीनका क्रान्तिकारी भइरहने सुविधालाई ‘अमेरिकी साम्राज्यवाद’ले खोसेको छ । यीनलाई लघारेर घोडाबाट सडकमा खसालेको छ र यीनका लंगौटी खोसेर नकचरो बनाएर फेरि क्रान्तिको नाममा उपद्रो गर्न नसक्ने गरि नैतिक लंगडो बनाई दिएको छ। आजकल आफ्नो त्यहि लाज छोप्न यी दुनियाले नपत्याउने तर्क गर्दै हिड्न विवश छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *